Logo
७ वैशाख २०८१, शुक्रबार

कर नतिर्नेप्रति कठोर महानगर, २९ वर्षदेखिको कर तिर्न पत्राचार

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार १०:०९ मा प्रकाशित

काठमाडौं। विगत २९ वर्षदेखिको सम्पत्ति कर तिर्नका लागि काठमाडौं महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ।

विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन कामपा राजस्व विभागले सम्बन्धित करदातालाई पत्राचारसहित आज अनुरोध गरेको हो। कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरेको छ तर उनीहरूले बेवास्ता गर्दै आएका छन्।

यसरी कर नतिर्ने संस्थाहरुमा खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहीटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क, नेशनल ट्रेडिङ लिमिटेड सिंहदबार, नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनोमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल स्वयम्भू, आर बि कम्प्लेक्स न्युरोड, काठमाडौँ प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, डेन्टल कलेज सामाखुसीलगायत १७ सँस्था रहेका छन्।

यसरी कामपाले गरेको पत्राचारको बेवास्ता गरे राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने पत्रमा उल्लेख गरिएको छ।

कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीका अनुसार यसरी असुल उपर हुनुपर्ने रकम करिब ५० करोड रहेको छ। विगतका वर्षहरूमा झैँ यसपटक पनि आनाकानी गरे कामपा थप कारबाही गर्न बाध्य हुने बताइएको छ।

कर काठमाडाैं महानगर