Logo
१५ असोज २०७९, शनिबार

बच्चै त हो नभन्नुस् : ‘भोलि नसुध्रिन सक्छ’

अक्षरपाटी
२०७९ भदौ २० , सोमबार ११:०९ मा प्रकाशित

० गोपाल ढकाल

‘जब बालबालिका भर्चुअल दुनियाँमा हराउन बाध्य पारिन्छ तब उसको शारीरिक, भाषिक, सामाजिक विकास, संवेग व्यवस्थापन र सिर्जनशीलतामा अवरोध पुग्छ । ऊ मान्छे त हुन्छ तर यान्त्रिक खालको’

चेलका बालबालिका मोबाइल, ल्यापटप, ट्याब, टीभी भनेपछि हुरुक्क हुन्छन् । बाबुआमा वा अग्रजको हातमा त्यस्ता सामग्री देख्यो भने तानेर चलाउन थालिहाल्छन् ।

अनि आमाबुवाले भन्छन्– ‘मेरो बच्चा त स्मार्ट छ, जस्तो मोबाइल पनि चलाउँछ । मैले चलाउन नजानेको एप पनि चलाइदिन्छ । जस्तोसुकै गेम पनि खेल्छ । मैले थाहै नपाएको फिचर पनि उसले थाहा पाउँछ ।’

यो गर्विलो आवाज कालान्तरमा भयानक पीडा र दुःखको मसिनो स्वर बन्न सक्छ । आजको गर्व लाग्ने कुरा बच्चा ठूलो हुँदै गएसँगै महान् पछुतोमा परिणत भइदिन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै इन्टरनेटको लतलाई रोगकै रूपमा परिभाषित गरिसकेको छ । ‘बच्चा त हो भोलि सुध्रिहाल्छ नि’ भनेर गरेको हेलचेक्र्याइँ त्यही बच्चाको भविष्यका लागि घातक हुन सक्छ । यो कुरा आजै बुझ्न जरुरी छ ।

० बालबालिकाको स्वभाव
बालबालिकाको स्वभाव भनेकै खेल्ने, चकचक गर्ने हो । विशेषगरी बालबालिका आफ्नै उमेरका सँग पुतली खेल, लुकामारी, सानासाना वस्तुलाई फुटबल बनाएर खेल्ने, गोटी खेल, रुमाल चोर, तातो आलु, एकअर्कासँग अन्तरंग हुने खेल खेल्न रुचाउँछन् । उनीहरू भर्जुअल संसार अर्थात् टेलिभिजन, मोबाइल, ल्यापटप, आईप्याडभन्दा पनि प्राकृतिक खेल नै खेल्न रुचाउँछन् ।

बालबालिका नयाँ कुरामा जिज्ञासु हुन्छन् । त्यसैले उनीहरू मोबाइल, क्यामेरा, ल्यापटकप, आईप्याडलगायतका ग्याजेटप्रति आकर्षित हुनु स्वाभाविक हो । किनकि त्यसमा गीत, संगीत, चित्र, भिडियोलगायतका आकर्षक फिचर्स हुन्छन् । तर प्राकृतिक खेलप्रति जति रुचि उनीहरूको त्यसमा हुँदैन । यो कुरा अपत्यारिलो लाग्नु दोष हाम्रो हो । हाम्रो भ्रम हो ।

० दोषी अभिभावक
बालबालिकालाई ग्याजेटप्रति बानी वा लत बसाल्ने हामी अभिभावक नै हो । यो कसरी भने बच्चालाई फकाउनु परे हामी मोबाइल दिन्छौँ । रोयो भने टीभी देखाएर भुलाउन खोज्छौं । खाना खान मानेन भने ट्याब, वा मोबाइल देखाएर खुवाउने प्रयत्न गर्छौँ । आफूलाई काम गर्न फुर्सद चाहियो भने हामी यिनै ग्याजेटहरूमा बालबालिकालाई अल्झाएर आफू उम्कने प्रयत्न गर्छौँ ।

यसले विस्तार विस्तार ग्याजेटप्रति उनीहरूको रुचि बढ्दै जान्छ । मोह जाग्छ । स्वभावतः उनीहरू प्राकृतिक खेल, दृश्य र परिवेशप्रति नै रमाउन चाहन्छन् भन्ने कुरा हामी अभिभावकले हेक्का राख्दैनौँ । र हामी अभिभावकले नै बालबालिकामा भर्चुअल दुनियाँको लत पारिदिन्छौँ ।

० दृष्टान्त
एउटा बालक मकहाँ मनोपरामर्शका लागि ल्याइएको घटना यहाँनेर सम्झन्छु । ती बालक १२ वर्षका भए । उनका बाबुआमा समय दिन नसक्ने । बाहिरको बाहिरै हुनुपर्ने । कामको व्यस्तता नै त्यस्तै । अब के गर्ने त ? बाबुआमाले ती बालकलाई भुलाउने सहारा मोबाइललाई बनाए । ट्याब पनि किनिदिए । बालकलाई हातमा मोबाइल र ट्याब थपाएर कोठामा थुनेर अभिभावकहरू काममा जाने गरे । पछि बालक मोबाइलको आदत बन्यो । वा लत नै लाग्यो । उसलाई मोबाइलबाहेक केही नचाहिने भयो ।

बाबुआमाको वास्तै नगर्ने भयो । एस र नो बाहेक अन्य शब्दै बोल्न छोडिदियो । बाबुआमा घरबाट निस्कँदा र अबेर घर आउँदा पनि उसले कुनै रुचि देखाउन छोड्यो । बालक घर बाहिर निस्कनै छोड्यो । विस्तारै उसको आँखा, कान र मानसिक तिक्ष्णता कमजोर बन्दै गएको ती बाबुआमाले पत्तो पाए । उनीहरू आत्तिए । कुनै सम्पर्कमार्फत मकहाँ आइपुगे । आज ती बालक उपचारकै क्रममा छन् । उनको मनोवैज्ञानिक र शारीरिक उपचार जारी छ ।

० विद्यालयमा  समस्या
अहिले आधुनिक शिक्षाको नाममा अनेक शिक्षालय खुलेका छन् । खुल्ने क्रम जारी छ । विद्यालयहरूमा पनि केही प्रयासहरू लगत भइरहेका छन् । स्मार्ट शिक्षा पद्धतिका नाममा भिडियो देखाएर पढाउने, भर्चुअल पढाउँदा, खेल्दै, हेर्दै, सिक्दै गर्छ भन्ने परेको छ । तर त्यसले बालमनोविज्ञानमा नराम्रो असर गरिरहेको हुन्छ । यस्तो शिक्षाले पनि बालबालिकालाई भर्चुअल संसारमा प्रवेश गराइरहेको हुन्छ । ग्याजेटको लत बसालिरहेको हुन्छ । तर हामी त्यस्तैखाले स्कुललाई अत्याधुनिक र स्मार्ट स्कुल भनिरहेका छौं । हाम्रा बालबालिका लतमा फसिरहेका छन् भन्ने हेक्का राखिरहेका छैनौँ ।

० प्रभाव र असर
ग्याजेट अर्थात् भर्चुअल लतले बालबालिकामामा कस्तो असर गर्छ ? यो महत्वपूर्ण प्रश्न हो । पहिलो त शारीरिक विकासमै यसले असर गर्छ ।
० बालबालिका खेल्दा, लड्दा, उठ्दा, कुद्दा, सुत्दा, बस्दा उसको शारीरिक विकासमा प्राकृतिक रूपमा मद्दत पुगिरहेको हुन्छ ।
० साथीहरूसँग बोल्दा, कुरा गर्दा, चिच्याउँदा, रुँदा उसको भाषिक विकास भइरहेको हुन्छ ।
० विभिन्न मान्छे, साथी, बाबुआमा, छिमेकी, वरपरका मान्छेसँगको अन्तरंगले उनीहरूमा सामाजिक विकास भइरहेको हुन्छ ।
० विभिन्न अवस्थासँग प्रत्यक्ष जुध्ने भएकाले उसले संवेग व्यवस्थापन गर्न सिकेको हुन्छ । साथी, परिवारसँग खेल्दा, चल्दा, हाँस्दा, रुँदा, झगडै पनि गर्दा बालबालिकामा संवेग व्यवस्थापनको विकास हुन्छ ।

तर जब बालबालिका भर्चुअल दुनियाँमा हराउन बाध्य पारिन्छ तब उसको शारीरिक, भाषिक, सामाजिक विकास, संवेग व्यवस्थापन र सिर्जनशीलतामा अवरोध पुग्छ । ऊ मान्छे त हुन्छ तर यान्त्रिक खालको बन्छ । अनुशासन, नियम, सञ्चार विकास हुन पाउँदैन ।
ग्याजेटको लत बसेको बालक पछि गएर सिर्जनशील हुन सक्दैन । सामाजिक हुँदैन, एक्लै बस्न रुचाउँछ । कोहीसँग मिल्न सक्दैन, झनक्क रिसाउँछ । साना समस्या पर्ने बित्तिकै आत्तिन्छ, समाधान खोज्दैन । ऊ कुँजोजस्तै हुन्छ ।

शारीरिक रूपमा पनि आँखालाई यी साधनहरूले असर गर्छ । कानमा समस्या देखिन्छन् । विद्युतीय रेहरूका कारण मानसिक विकासमा असर गर्छ । एउटा मात्रै असर भन्ने छैन, सामाजिक, शारीरिक, मानसिक र सिर्जनात्मक असर यसले गरिरहेको हुन्छ । पछि गएर ठूलो समस्या आउन सक्ने हुन्छ ।

० बुझ्नुपर्ने कुरा
बालबालिका ग्याजेटप्रति मोहित हुन नदिन अभिभावक सचेत हुनुपर्छ । पहिलो त भर्चुअल संसारमा बालबालिकालाई प्रवेश गराउनु भएन । प्रयोग गरे पनि हामीले मनोरञ्जनका साधनका रूपमा प्रयोग गर्नु हुँदैन । बुझ्नै पर्ने कुरा के भने बालबालिकाको मनोरञ्जनको साधन यो होइन, उनीहरूको उमेरले खोज्ने भनेको लाइभ अर्थात् आफंै संलग्न हुने प्राकृतिक मनोरञ्जन हो । त्यो भनेको साथी, परिवार छिमेकसँग खेल्ने, चल्ने, नयाँनयाँ कुरामा चाख राख्ने उनीहरूको स्वभाव हो भन्ने बुझ्नुप¥यो ।

कहिलेकाहीँ आवश्यक पनि पर्न सक्छ । तर त्यो शिक्षाको पार्टका रूपमा प्रयोग गर्न सिकाउने गर्नुपर्छ । बालबालिका अबोध हुन्छन्, के प्रयोग गर्ने, के नगर्ने भन्ने हामीले सिकाउन जान्नुपर्छ । शिक्षा प्रदान गर्ने नयाँ विषयलाई सीमित र सीमामा बसेर प्रयोग गर्न सिकाउनु हाम्रो कर्तव्य हो ।

 बहाना अनेक
हो, अभिभावकले बालबालिका ग्याजेटप्रति मोहित हुनुका अनेक बहाना बनाउँछन् । धेरै बाध्यता दर्शाउँछन् । ‘ठाउँ छैन । छिमेक छैन । साँघुरो बसाइ छ । खेल्ने आँगन छैन’, भन्छन् । हो सहरिया बसाइ अलिक सीमितखाले छ । त्यसो हो भन्दैमा हामीले बालबालिकालाई जानीजानी विषको लत बसाउन हुँदैन ।

 विकल्प छन्
बालबालिकालाई ग्याजेटबाट टाढा राख्ने विकल्प अनेक छन् । उनीहरूलाई सिर्जनात्मक खालका खेल खेल्न प्रेरित गर्न सकिन्छ । आर्ट गर्न सिकाउन सकिन्छ । नृत्य गर्न प्रेरित गर्नुपर्छ । आफू भान्सामा हुँदा तरकारी केलाउन, चलाउन दिनुपर्छ । भाँडा, लुगा धुँदा, सँगै सरिक गराउन सकिन्छ । घरमा सकेको घरेलु खेलका सामग्री जुटाइदिने विकल्प अपनाउन सकिन्छ । टोलछिमेकका उस्तै बालबालिकालाई संगै कुनै स्थानमा राखेर खेल्न, उफ्रन दिने गर्न सकिन्छ । विभिन्न कथा, पौराणिक कथाका किताब ल्याएर कथा सुनाउने र सुन्ने बानीको विकास गर्न सकिन्छ । यसले उनीहरूमा सिर्जनशीलता, चेतना, ज्ञान र पढ्ने बानीको विकास हुन्छ ।

 गुणस्तरीय समय
बालबालिकाभन्दा अभिभावक भर्चुअल दुनियाँको लतमा फसेका घटना धेरै छन् । घरमा भएर पनि फेसबुक, इन्टाग्राम, ट्विट, टीभीलगायतका भर्चुअल दुनियाँमा अभिभावक डुबेका हुन सक्छन् । यसले बालबालिकामा राम्रो असर पर्दैन । यसको असर उनीहरूमा झन् नराम्रो पर्ने पक्का छ । त्यसैले अभिभावकले उनीहरूका अगाडि ग्याजेट चलाउनु हुँदैन । चलाउनै परे सिर्जनशील वा कामको लागि मात्रै चलाएको हुनुपर्छ । अझ के हेर्ने, के नहेर्ने भन्ने कुरा त झन् विशेष ख्याल गर्नै पर्छ । त्यसमा पनि नियम अनिवार्य बनाउनुपर्छ । दिनभरि व्यस्त भएर घरमा आएको बेला पनि आउने बित्तिकै ग्याजेटको पछि लाग्नाले बालबालिकामा मानसिक रूपमै त्यसको असर राम्रो पर्दैन । उनीहरू एकांकी अनुभव गर्छन् । बेवास्ता गरेको अनुभूति हुन्छ । मनोरञ्जनको साधनका रूपमा यसलाई प्रयोग गर्नै हुँदैन ।

उन्मुक्ति
सबै अभिभावकले ‘ठाउँ छैन, कौसी छैन । बच्चाले चकचक गरिरहन्छ, के गर्ने त ?’ भन्छन् । अघि भनेजस्तै वैकल्पिक खेल सामग्री, आर्टका सामान, संगीत सामग्री आदिको जोहो गर्नुपर्छ । सक्नेले भएको जग्गा सबै मिचेर घर बनाउने चलन छ । त्यो गलत हो । खेल्ने आँगन, सानो फूलबारी सक्नेले अनिवार्य बनाउनु पर्छ । मानिसले मानिससँग गर्ने व्यवहारको वातावरण बनाउन लाग्नुपर्छ । प्रविधिको जिम्मा बालबालिकालाई लगाएर भोलि असल नागरिकको कल्पना गर्न सकिँदैन ।

सरकारको दायित्व
राज्य भनेको सत्ता चलाउने मात्र होइन । अभिभावक पनि हो । अभिभावकले आफ्नो अभिभावकत्वमा रहेका हरेक वर्ग, उमेर, क्षेत्रका नागरिकप्रति उत्तरदायी हुनुपर्छ । आज निर्माण भएका र भइरहेका सहर बालबालिकामैत्री छन् कि छैनन् ? हेक्का राख्नुपर्छ । बालबालिका लागि हरेक टोलमा बाल उद्यान, पार्क, खेल मैदान वा खुला चौरहरू स्थापना गर्नु राज्यको दायित्व हो । चाइल्ड गार्डेन निर्माण हुनुपर्छ ।

समग्रमा भन्ने हो भने अभिभावकलाई अभिभावकत्वको सीपको कमी भएको हो भन्न सकिन्छ । अभिभावकत्वको सीप भयो भने यी समस्या धेरै कम भएर जानेछन् ।

व्यस्तताको दण्ड बालबालिकामा !
आफू व्यस्त हुनुको मार बालबालिकामा पार्नु हुँदैन । तपाईँ त्यही बालबालिकाको भविष्यका लागि भनेर व्यस्त रहनुहुन्छ भने त्यही बच्चालाई ग्याजेटको लत पारेर कमाउनुको अर्थ के ? बच्चालाई राम्रो लाउन, राम्रो खान, राम्रोमा बस्न, राम्रो ठाउँ घुम्नभन्दा ठूलो महत्व अभिभावकको समयको हुन्छ । त्यो भनेको क्वालिटी अफ टाइम हो । बालबालिकाले जहिल्यै अभिभावकको महत्वपूर्ण समय चाहन्छ । आफू बिजी छु भनेर बालबालिकालाई भर्चुअल दुनियाँको जिम्मा छोड्नुभयो भने भोलि तपाईँले कमाएको धन त्यही बच्चाका लागि काम नलाग्न सक्छ । किनकि ऊ अर्कै लतमा फसिसकेको हुन सक्छ । त्यसैले आफूसँगै बच्चालाई आफ्ना क्रियाकलापमा सामेल गराउनुस् । उत्कृष्ट समय दिनुस् । महत्वपूर्ण समयमा सँगै हुनुस् । रुचिअनुसारको व्यवहार बालबालिकासँग गर्न आवश्यक छ ।

पछि पर्ने असर
ग्याजेटको लतले बालबालिकाको भविष्यमा व्यक्तित्वमै ठूलो नकारात्मक असर गर्छ । उनीहरू सानो सानो समस्यामा आत्तिने हुन्छन् । समाजमा कसैसँग मिल्न नसक्ने स्वभावको विकास हुन्छ । झगडालु हुने, डराउने, तर्सिने, अन्तरमुखी, एकांकी हुँदै जाने यसको असर हो । विस्तारै डर, चिन्ता, डिप्रेसन र ध्यान केन्द्रित गर्न नसक्ने अति चञ्चले (एडीएचडी) जस्ता समस्या बालबालिकामा देखिन सक्छन् । अन्य मानसिक समस्या पनि आइलाग्ने हुन सक्छ ।

तत्काल पनि निद्रा नलाग्ने, रातभरि ग्याजेट चलाएर बस्ने बानीले निद्रा अधुरो हुने हुन्छ । अनिद्राका असर आफ्नैखाले छन् । त्यसो हुँदा पढाइ बिग्रिने, आँखा र कानको समस्यासँगै ट्युमरसम्म हुन सक्छ । सिर्जनशीलता निष्क्रिय भएर जान्छ । बच्चा ठूलो भएसँगै रोग छिप्पिसकेको हुन सक्छ । उपचारका लागि निकै कठिन मेहनत गर्नुपर्ने हुन सक्छ । त्यसैले ‘बच्चा त हो नि’ भनेर बेवास्ता नगर्नुस्, भोलि नसुध्रिन सक्छ ।

(मनोविद् ढकालसँग कुराकानीका आधारित्)