Logo
३० भदौ २०८३, मंगलबार

मन्त्रीहरूको अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह

अक्षरपाटी
२०८३ असार १ , सोमबार ०३:०६ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको अभिव्यक्तिमा संयम अपनाउन र बोलीमा लगाम लगाउन आग्रह गरेका छन्।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले धादिङमा सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै शर्माले यस्तो टिप्पणी गरेका हुन्।

सोमबार भिडियो सन्देश जारी गर्दै उनले भने, ‘यदि हामी यस्तो समाजतर्फ जाँदै छैनौं भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्, प्रधानमन्त्रीज्यू।’

शर्माले पछिल्ला केही घटनाले समाजको दिशा र प्रवृत्तिबारे गम्भीर प्रश्न उठाएको बताए। उनले धनगढीमा एक श्रमिक महिलाको टेम्पो भिरबाट धकेलिएको घटना, सिराहामा विद्यार्थीका मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटना तथा मन्त्री लम्सालको अभिव्यक्तिलाई उदाहरणका रूपमा प्रस्तुत गरे।

उनले प्रधानमन्त्रीले निर्वाचन अभियानका क्रममा दिएको एक अभिव्यक्तिसमेत स्मरण गराउँदै कानुनी राज्य र सभ्य समाजको मूल्य–मान्यताअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

‘एक देशमा चोरी गर्ने व्यक्तिलाई सजायस्वरूप दुवै हात काटिएको घटना सम्झन्छु। के हामी पनि त्यस्तै समाजतर्फ जाँदैछौं भन्ने प्रश्न उठेको छ,’ शर्माले भने।

उनले राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले प्रयोग गर्ने भाषा र व्यवहारले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सार्वजनिक अभिव्यक्तिमा विशेष संयम आवश्यक रहेको बताए।

नेपाली कांग्रेस विश्वप्रकाश शर्मा