Logo
१२ वैशाख २०८१, बुधबार

१ लाख १५ हजार म्यादीमा भर्ना आह्वान

अक्षरपाटी
२०७९ भदौ २६ , आईतबार ०१:०९ मा प्रकाशित

काठमाडौं ।  सरकारले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी आइतबार १ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो । म्यादीको कार्यअवधि ४० दिनको हुने छ ।

आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र चारवटै सुरक्षा निकाय चुनावी सुरक्षा तथा व्यवस्थापनमा जुटिसकेका छन् । त्यही क्रममा प्रहरी प्रधान कार्यालयले आइतबार म्यादी प्रहरी भर्ना आह्वानको सूचना सार्वजनिक गरेको हो । आवेदन देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन पाइने छ ।

आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएकारनरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता निर्धारण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त अवधि सकिएको भोलीपल्ट अर्थात असोज ७ गते आबेदन दिएको ठाउमा सम्पर्क राख्नु पर्ने छ ।

असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसक्नु पर्ने छ । त्यसबीच दसैं परेकोले म्यादी भर्नाको नतिजा भने असोज २५ मा मात्रै गरिने छ । यसी छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म मा तालीम गराएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिने छ । तालीम प्रहरीबाट गराइने र कार्यअवधिभर प्रहरीकै कमान्डमा रहेर म्यादीले सुरक्षा जिम्मेवारी निर्वाह गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

म्यादीले ४० दिनको तलबरभत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैया पाउने छन् । स्थानीय तह निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपैयाँ बढी दिन लागिएको हो । सबै राष्ट्रसेवकको तलब साउन १ बाट १५ प्रतिशत बढाएका कारण म्यादीले पाउने रकम पनि बढेको छ ।

म्यादी प्रहरी