Logo
१६ चैत्र २०८०, शुक्रबार

सार्वजनिकस्थलमा अब सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने

अक्षरपाटी
२०७९ भदौ ३० , बिहीबार ११:०९ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ।

महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ।

महानगरपालिकाले सूचना जारी गर्दै यही असोज १ गतेबाट महानगरका सार्वजनिकस्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ।

यसैगरी महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने कामपाका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

काठमाडाैं महानगर नो स्मोकिङ्ग