Logo
१५ वैशाख २०८१, शनिबार

सुदूरपश्चिमका बाढीपीडितको उद्धार र राहतका लागि नेतृ देउवाको अपिल

अक्षरपाटी
२०७९ असोज १ , शनिबार ०७:०९ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रमा पहिरो र बाढीमा परेर पीडित भएकाहरुलाई सहयोगका लागि सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छन्।

शुक्रबारदेखिको परेको अविरल वर्षाबाढीका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढी मानिसको ज्यान गएको छ भने, दर्जनौ प्रभावित भएका छन्।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन्।

उनले पहिरोमा परेर घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि सरकार र सम्बन्धित निकायसँग माग गरेकी छन्। पहिरोमा परी ज्यान गुमाउनेहरूका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उनले आग्रह गरेकी छन्।

त्यसैगरी डा देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रम लगी पीडितलाई सहयोग गर्न पनि अनुरोध गरेकी छन्।

वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यन्वयन गर्न पनि उनले सरकारसँग अनुरोध गरेकी छन्।

आरजु राणा