Logo
७ वैशाख २०८१, शुक्रबार

आठ महिनादेखि बाबुआमा बेपत्ता, छोराछोरीको बिचल्ली

अक्षरपाटी
२०७९ असोज ३ , सोमबार ०३:०९ मा प्रकाशित

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन्।

विसं २०७८ माघ ९ गते दुवै जना घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए। दुवै बोल्न नसक्ने थिए। दम्पत्ति हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ।

बोल्न नसक्ने आमाबुवा हराउँदा तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन्। छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र ६ वर्षका छोरा सुवास समस्यामा छन्।

माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन्। आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताइन्। रामकलीले भनिन्, “सकेजति आमाबुवाको खोजी गरिहेका छौँ तर कहीँ कतै भेटिनुभएको छैन।”

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताए। सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक शाहीले भने, “अहिलेसम्म कहीँबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउँछौँ।”

बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ। बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन।

अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी परिरहनुहुन्छ । हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताए।

छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उनले बताए। एक दिन आउछन् भन्ने विश्वास रहेको उनको भनाइ थियो। माइली छोरीले पनि आमाबुवा बोल्न नसक्ने भएपनि आफूहरुको साहारा भएको बताइन्।

बेपत्ता