Logo
१५ वैशाख २०८१, शनिबार

कांग्रेसको उम्मेदवारीलाई लिएर कैलाली ५ मा अनेकन अडकलबाजी

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार १०:०९ मा प्रकाशित

धनगढी। कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा उम्मेदवार बन्ने विषय निकै चर्चामा रह्यो।

अघिल्लो निर्वाचनमा एमालेका नारदमुनी रानासँग पराजय भोगेकी राणाले यसपटक समानुपातिकबाट उम्मेदवार बन्ने भएपछि कैलाली ५ मा को उम्मेदवार बन्ला भन्ने विषय पनि उत्तिकै चर्चामा छ।

प्रथम महिला समेत रहेकी कांग्रेस नेतृ राणा समानुपातिकमा सुदूरपश्चिमको कोटाबाट बन्द सूचीमा परेपछि कैलाली ५ थप चासोको विषय बनेको छ।

आरजु राणाको सम्भावना नरहेपछि अब यहाँबाट अनेकन नाम चर्चामा आउन र ल्याइन थालेका छन्। यतिबेला धेरैले १० वर्ष कैलालीको पार्टी सभापति बनेका नरनारायण शाह मनुको नाम अगाडि सारेका छन् भने केहीले प्रदेशसभा सदस्य डिल्लीराज पन्तको नाम अगाडि सारेका छन्।

युवा पुस्तामा स्वर्गीय कांग्रेस नेता तथा पूर्व मन्त्री टेकबहादुर चोखालकी छोरी निपा चोखालको सम्भावना पनि अनुमान गरेका छन्। उता क्षितिज भण्डारीले पनि आरजुपछि कैलाली ५ को एक मात्र सम्भावित उम्मेदवार आफू मात्रै भएको दाबी गर्दै हिँडेका छन्।

तर कैलालीमा ५ मा उम्मेदवार बन्न नेपाली कांग्रेसले पुराना र बलिया नेता पुष्करनाथ ओझाको साथ नलिइ जितको सम्भावना निकै कमजोर हुने विश्लेषण एकथरीको छ। ओझालाई पार्टीले अनुशासनको कारवाही गरेकाले उनी आफै स्वतन्त्र रुपमा उम्मेदवारी दिने अन्तिम तयारीमा रहेको राजनीतिक वृतमा चर्चा छ।

कैलाली ५ मा अगाडि देखिएका र चर्चामा ल्याइएका नाम मात्र होइन युवा नेता केशव मिश्र, पूर्ण कुँवर, नृप सुनारलगायत पुराना नेताहरुको कमी छैन। उत्तम कठायत, नारायणदत्त मिश्र, आनन्द जोशी, दीर्घराज भाटलगायतका नेताहरु पनि आफूलाई उम्मेदवारका लागि योग्य दावी गर्ने सम्भावना कांग्रेसी वृतमा चर्चा हुने गरेकाे छ।

तर पार्टी नेतृत्वको लामो अनुभव र संगठनका हिसाबले शाह बलिया भन्नेको कमी नभए पनि उनी पार्टी नेतृत्व र सँस्थापन निकटका नेताहरुसँगको सम्भबन्धमा दुरी भएका कारण टिकट पाउने सम्भावना कमजोर भएको अडकलबाजी पनि उत्तिकै हुनेगरेको छ।

पन्तले यसअघि प्रदेशसभामा रहँदा खेलेको भूमिकालाई लिएर टिप्पणी हुने गरको छ भने युवा तथा महिला भएकाले पनि चोखालको सम्भावनालाई नकार्न नहुने धारणा राख्नेहरुको पनि कमी छैन।

तर पार्टीले स्थानीय वस्तुस्थितिभन्दा पनि माथिबाटै निर्णय गर्ने प्रवृत्ति हावी भएकाले अडकलबाजी र विश्लेषणहरु नमिल्नसक्ने सम्भावना पनि उत्तिकै भएको अनुमान गर्ने काँग्रेसीहरुको कमी छैन।

 

कांग्रेस कैलाली ५