Logo
१७ कात्तिक २०८३, मंगलबार

सत्तापक्षलाई काँग्रेस नेता चालिसेको चेतावनी : आफ्नो फुस्किएको धोति सम्हाल, अन्यत्र आँखा नलगाउ

अक्षरपाटी
२०८३ कात्तिक १७ , मंगलबार ०१:११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा बाह्य हस्तक्षेप आवश्यक नरहेको भन्दै सत्तारूढ पक्षलाई आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गर्न सुझाएका छन्।

चालिसेले कांग्रेसका सबै सांगठनिक गतिविधि पार्टी विधानबाट निर्देशित हुने र विधान संविधान तथा प्रचलित कानुनको अधीनमा रहेर कार्यान्वयन हुने बताएका छन्। कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताको आडमा खडा गरिएका कुनै व्यक्ति वा समूहको प्रमाणपत्र आवश्यक नपर्ने उनको भनाइ छ।

‘लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो’ भन्दै उनले कांग्रेसको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासप्रति असन्तुष्टि जनाएका छन्।

कांग्रेसभित्र विमति र असहमति हुनु स्वाभाविक भएको उल्लेख गर्दै चालिसेले ती विषय पार्टीकै आन्तरिक प्रक्रियाबाट समाधान हुने बताएका छन्। कांग्रेसभित्रको असहमतिलाई देखाएर लोकतन्त्रविरोधीहरूले खुसी मनाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘कांग्रेसको आन्तरिक विषय मिलाउन कांग्रेस आफैँ सक्षम छ,’ उनले भनेका छन्, ‘सत्तारूढ पक्षले आफ्नो फुस्किएको धोती आफैँ सम्हालोस्, अन्यत्र आँखा लगाउन जरुरत छैन।’

चालिसेले कांग्रेस कुनै अस्थायी प्रतिक्रियाबाट जन्मिएको भीड नभएको दाबी गर्दै सामाजिक सञ्जालका स्टाटस र उत्तेजनात्मक भाषणबाट पार्टीको सिद्धान्त र इतिहास निर्माण नभएको टिप्पणी गरेका छन्।

कलाकार र राजनेताबीच, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नुबीच तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नुबीच ठूलो अन्तर रहेको उनको भनाइ छ।

‘कलाकार हुनु र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नुमा, चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नुमा जमिन–आकाशको फरक हुन्छ,’ चालिसेले लेखेका छन्।

उनले सत्ताको उन्मादमा इतिहासलाई चुनौती नदिनसमेत चेतावनी दिएका छन्। सत्ता र शक्ति स्थायी नहुने भन्दै चालिसेले आज दबाइएका, लुकाइएका वा ओझेलमा पारिएका प्रश्नको जवाफदेहिताको दिन आउन सक्ने बताएका छन्।

यस क्रममा उनले सद्दाम हुसेन, मुअम्मर गद्दाफी र एडोल्फ हिटलरसहित इतिहासका निरंकुश शासकहरूको पतनको उदाहरण दिँदै शक्ति स्थायी नहुने र अहंकारको आयु अझ छोटो हुने टिप्पणी गरेका छन्।

‘घडीको सुई कसैको नियन्त्रणमा हुँदैन,’ उनले भनेका छन्, ‘आज सत्ताको आडमा दबाइएका, लुकाइएका वा ओझेलमा पारिएका प्रश्नहरू पनि अनगिन्ती छन्। हरेक घटनाहरूको जवाफदेहिताको दिन पनि आउन सक्छ। इतिहासले कसैलाई सधैँ उन्मुक्ति दिँदैन।’

चालिसेले आफूहरू कुनै प्रतिशोध वा पूर्वाग्रहका आधारमा नभई न्याय, सत्य र जवाफदेहिताका पक्षमा रहेको बताएका छन्। उनले विधिको शासन र निष्पक्षताको पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै बिचौलियासमेत राज्यको नियमन र नियन्त्रणभित्र हुनुपर्ने धारणा राखेका छन्।

यसैबीच, कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पनि ‘दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ, विषयान्तर होइन’ भन्दै टिप्पणी गरेका छन्।

भण्डारीको उक्त अभिव्यक्ति र चालिसेको पछिल्लो भनाइले सत्तारूढ पक्ष तथा कांग्रेसबीच पछिल्लो समय देखिएको राजनीतिक तथा वैधानिक बहस थप चर्किन सक्ने संकेत गरेको छ।

चन्द्र भण्डारी देवराज चालिसे नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )