Logo
११ वैशाख २०८१, मंगलबार

पार्टीका हितमा नबोल्नेले टिकट नपाएकोमा रुवाबासी गर्नु सही होइन : ओली

अक्षरपाटी
२०७९ कात्तिक ५ , शनिबार १०:१० मा प्रकाशित

ललितपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्यायसँगत तरिकाले टिकट दिएको बताए।

तिहारका अवसरमा नेकपा एमाले ललितपुरले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो दिनुपर्ने बताए।

उनले कसैले अवसरै अवसर पाउने र कसैले हेरिरहनुपर्ने अवस्था ठिक नभएको बताए। उनले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट पारे ।

“टिकट पाएन, स्वभाविक हो, पालो गर्नुपर्दैन? अरुलाई पनि त पालो दिनुपर्छ”, अध्यक्ष ओलीले भीम रावललगायतका नेतालाई लक्षित गर्दै भने भने, “पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उनको भूमिका आवश्यक छ, उहाँ नभइकन संसद् चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन।”

अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै ०४८ सालदेखि सांसद भइरहेका र गत असोज २÷३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा राखे।

“पार्टीको हितमा एक शब्द बोलेको होइन, आन्दोलनको हितमा एक शब्द बोलेको होइन”, उनले भने, “अरु–अरु प्रकारका तमासा देखाएको छ।” अध्यक्ष ओलीले राष्ट्र र पार्टीमा योगदान दिनेलाई टिकटमा न्याय गरिएको बताए।

केपी ओली