काठमाडौँ। वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण हिउँद लागेसँगै ह्वात्तै घटेको छ।
वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो। अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ। जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुँदै गएको छ।
वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए। अहिले त्यो सङ्ख्या निकै घटेको छ।
गत कात्तिक १५ देखि कात्तिक २० गतेसम्म ६ सय २४ जनामा मात्र डेङ्गु संक्रमण देखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
जबकी गत असोज १५ देखि कात्तिक १५सम्ममा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेङ्गुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए।
उनले खासगरी वातावरणको प्रभाव र जनतामा सचेतना बढेकाले डेङ्गुका बिरामी घटेको बताए।
महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेङ्गुको सङ्क्रमण बढेको र त्यसपछि ३८ औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए।
उनका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेङ्गुका बिरामी भेटिएका छन्। ४४औँ हप्तामा आइपुग्दा ६ सय २४ जनामा मात्र डेङ्गुको सङ्क्रमण देखिएको छ।
उनले अबको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने अनुमान गरे। महाशाखाका निर्देशक डा दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ चार प्रकारका देखिएका थिए।
महाशाखाका निर्देशक डा दासले सङ्क्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेङ्गु–१ र पाँच वटा नमूनामा डेङ्गु–३ देखिएको जानकारी दिए।
अहिले फेरि कुन तहको डेङ्गु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ। त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी छन्।
तीमध्ये तीन जना सघन उपचार कक्ष र ६ जना साधारण शय्यामा उपचाररत रहेका छन्। अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसे विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताए।
उनले जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेङ्गुका बिरामी घटेको बताए।
उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताए। अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो सङ्ख्या घटेको छ।
साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्दथ्यो।
नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्। असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेङ्गुका बिरामी भेटिएका छन्।
तीमध्ये ५४ जनाको डेङ्गुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेङ्गुका बिरामी घटेको बताउँछन्। उनका अनुसार अहिले २० जना मात्र डेङ्गुका बिरामी उपचारत रहेका छन्।
नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो। सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ।
सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ।
तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए।
सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए।
डेंगु संक्रमण