Logo
१४ वैशाख २०८१, शुक्रबार

कैलालीको कर्णाली : जहाँ चुनाव लागे मात्र नेता देखिन्छन्

अक्षरपाटी
२०७९ कात्तिक २२ , मंगलबार ०२:११ मा प्रकाशित

खैराला। यतिबेला देशभर चुनावी रौनक छ। सहरबजारमा सभा, जुलुस, माइकिङ र र्‍याली भइरहेका छन्। ठूला स्पिकर, तामझामसमेत देखिन्छन्।

तर कैलालीको विकट गाउँ साविक खैराला, निगाली र मोहन्यालतिर भने प्रचार गर्नेहरुलाई नै हैरानी छ।

टोललोटमा पुग्न मोटर बाटो छैन। आमसभामा बोलेको चर्को भाषण गरीब किसानलाई सुनाउन लाउडस्पिकर जोड्ने बत्ति छैन। यस क्षेत्रमा आसन्न मंसिर ४ को निर्वाचनका लागि प्रचारप्रसारमा पुग्ने उम्मेदवारहरु २०४८ कै नियति भोगिरहेका छन्।

हात हातमा हाते माइक बोकेर जनताका अघिल्तिर उभिएर निर्वाचन प्रचार गर्नु उनीहरुकै बाध्यता बनेको छ।

नेपाल विद्युत प्राधिकरणको ३६औँ वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले दुई वर्ष अर्थात् आर्थिक वर्ष २०८०(८१ भित्र देशका सबै जनसंख्यामा बिजुलीको पहुँच पुर्याउने घोषणा गरेका छन्।

२०७८ साल भदौसम्म कूल जनसंख्याको ९० प्रतिशतमा आधारभूतरूपमा ग्रिडको बिजुली पुगेको दाबी गरे पनि कैलालीको कर्णालीका रुपमा चिनिने खैराला, मोहन्याल र निगालीतिर विद्युतका पोल गाड्ने सुरसारसम्म छैन।

पर्यटकीय सम्भावना बोकेको करिब शताब्दी पुरानो खैरालामा रहेको जीर्ण राणाकालीन दरबार।

यतिबेला नेताहरु जनताका दुख देख्न नभए पनि भोटका लागि गाउँगाउँमा पुगिरहेका छन्। घुँडा ठोकिने ओरालो र टोपी खस्ने उकालो छिचोलिरहेका छन्। जनताले जीवनभर अँध्यारोमा कसरी गुजारा चलाए होलान ? वा यो उकाली ओराली गरेहोलान अर्थात बिरामी पर्दा कहाँ उपचार पाए होलान ? यो चिन्ता आजसम्म यहाँ चुनाव लड्न आउने कसैले नगरेको यस क्षेत्रका जनताको गुनासो छ।

आफूहरुको चिन्ता नभए पनि अर्कोपटक निर्वाचन आउँदा उनीहरुमा आफूले कम्तिमा यस्तो दुःख गर्नु नपरोस भन्ने व्यवस्था मात्रै गरिदिए आफूहरुले पनि थोरै सजिलोको सास फेर्न पाउने चुरे गाउँपालिका ४ का धनसिंह भुलको भनाइ छ।

कैलाली क्षेत्र नम्बर ४ बाट कहिले कांग्रेस, कहिले माओवादी, कहिले एमालेले चुनाव जिते। डेड दशकअघि तत्कालीन माओवादीबाट चुनाव जितेका लेखराज भट्टले चौमाला खैराला सडकको सिलान्यास गरे। तर त्यसपछि कहिल्यै फर्किएर नआएको यस क्षेत्रका जनताको छ।

नेपाली कांग्रेसका दीर्घराज भाटले पनि बनाउँछु भनेको सडक र स्वास्थ्यको सुविधा जस्ताको त्यस्तै भएको यहाँका मतदाता गुनसो गर्छन। एमालेबाट चुनाव जित्नेहरु पनि जनताका समस्यामा कहिल्यै नजिक नभएको उनीहरु बताउँछन्।

तत्कालीन सभासद लेखराज भट्ट २०६५ मा खैराला चाैमाला सडकको शिलान्यास गर्दै

प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट यसपटक बीरबहादुर बलायर र एमालेका तर्फबाट लेखराज भट्ट मैदानमा छन्। चुरे ४ कि भावना पुरि भन्छिन्, ‘यसपटक जसले चौमाला खैराला सडक हिउँदमा खोस्रने मात्र होइन, वर्षामा पनि चल्ने बनाउँछ। बिरामी हुँदा डोकोमा बोकेर होइन, गाउँमै उपचार हुने व्यवस्था गर्ने कसम खान्छ उसैलाई भोट दिन्छौँ।’

चौमालाबाट जम्मा १८ किलोमिटर दुरीमा रहेको साबिक खैराला अहिले पनि बिजुली बिहीन छ। बाटो हिउँदमा चल्छ, वर्षातमा चल्दैन। सडक खन्ने काम मात्रै हुन्छ, नालीसहितको व्यवस्थित विकास हुन सकेको छैन।

खैराला- चाैमाला मोटरबाटोको ट्रयाक

‘यी समस्या आजका होइनन्, २०४८ सालमा पनि सडक बनाउँछु, पानीको समस्या हल गर्छु, गाउँमै विशेषज्ञसहितको अस्पताल बनाउँछु भनेर भोट मागे,’ धनसिंह बरैले भने, ‘कहिलेसम्म पत्याउने, क कसलाई पत्याउने?’

चुनावका बेला आउने भोट माग्ने, अति जितेपछि होस या हारेपछि पनि नफर्कने नेताहरुको शैलीले यहाँका जनता आजित छन्।

गाउँमा तमाम पर्यटकीय र कृषि सम्भावना भए पनि त्यसकालाई प्रोत्साहन गर्नुको साँटो कार्यकर्तामुखी बजेट दिने र आफूले गर्दै नगरेको काममा पनि जस लिन खोज्ने प्रदेशस्तरका नेताहरुको शैलीप्रति पनि यहाँका जनता रुष्ट छन्।

खैराला निर्वाचन