Logo
९ कात्तिक २०८३, सोमबार

व्यवसायी चन्द्र ढकालद्वारा पर्यटन पुनर्जागरणको आह्वान: ‘संसारलाई नेपाल सुरक्षित छ भन्ने सन्देश आफैँ घुमेर दिऔँ’

अक्षरपाटी
२०८३ कात्तिक ९ , सोमबार १०:१० मा प्रकाशित

जालपादेवी केबलकार सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं। एकपछि अर्को प्राकृतिक विपत्तिले मुलुकको पर्यटन क्षेत्रमा चुनौती थपिरहेका बेला आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सुरक्षित पर्यटकीय गन्तव्य रहेको सन्देश विश्वभर फैलाउन आह्वान गरेका छन्।

दशैँ मनाउन जन्मथलो बागलुङ पुगेका ढकालले त्यहाँबाट सुदूरपश्चिमको कैलालीस्थित चिसापानीसम्मको यात्रा र निर्माणाधीन जालपादेवी केबलकारको अवलोकनपछि नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो यात्राको अनुभव सार्वजनिक गर्दै प्राकृतिक विपत्तिका कारण उत्पन्न कठिनाइलाई नेपालको पर्यटन असुरक्षित रहेको सन्देशका रूपमा फैलिन दिन नहुने धारणा सार्वजनिक गरेका छन्।

‘यसवर्ष प्रकृतिले हामीलाई धेरै दुःख दिए पनि यसको सन्देश नेपालको पर्यटन असुरक्षित छ भन्ने कदापि हुनु हुँदैन,’ ढकालले लेखेका छन्, ‘जसोतसो हामी उठ्नैपर्छ, भोलिका पुस्ताको भविष्यका लागि जुट्नैपर्छ।’

उनले पर्यटन प्रवर्द्धनका लागि भाषण र प्रचारमा मात्र सीमित नभई नेपाली स्वयंले देशभित्र यात्रा गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिएका छन्।

ढकालले सम्झिए बाल्यकालको पुरानो यात्रा

ढकालको यसपटकको दशैँ यात्रा पारिवारिक भेटघाटमा मात्र सीमित रहेन। जन्मघर र मामाघर हुँदै सुदूरपश्चिमसम्म पुगेका उनले सडक पूर्वाधारमा आएको परिवर्तन र त्यसले खोल्न सक्ने आर्थिक सम्भावनालाई नजिकबाट अनुभव गरेकाे समेत बताए।

कालीगण्डकी कोरिडोर हुँदै बागलुङबाट चार घण्टामै बुटवल र १२ घण्टामा कैलालीको चिसापानी पुगेको अनुभव सुनाउँदै उनले विगत र वर्तमानको यातायात सुविधाबीचको अन्तर उल्लेख गरेका छन्। कुनै समय नुनतेल किन्न बटौली पुग्न कैयौँ दिन लाग्ने गरेको स्मरण गर्दै उनले अहिले त्यही दूरी चार घण्टामा पार गर्न सकिने अवस्था बनेको बताएका छन्।

‘गाडीमा बागलुङबाट चार घण्टामै बुटवल पुग्दा पहिले हामीले नुनतेलका लागि जाने गरेको उही बटौली सम्झिएँ, जहाँको यात्रा त्यस बेला कैयौँ दिनको हुन्थ्यो,’ उनले लेखेका छन्।

उनका अनुसार सडक सञ्जालको विस्तारले अहिले दक्षिणको सुनौली नाकादेखि उत्तरको कोरला नाकासम्मको पहुँच सहज बनाएको छ। तर, सडक निर्माण हुनु मात्र पर्याप्त नभएको उनको बुझाइ छ। सडकलाई नियमित आर्थिक गतिविधिसँग जोड्न सके मात्रै पूर्वाधारमा गरिएको लगानीको वास्तविक प्रतिफल प्राप्त हुने उनले संकेत गरेका छन्।

कालीगण्डकी कोरिडोरमा तीन अर्ब जनसंख्याको पर्यटन बजार

ढकालले कालीगण्डकी कोरिडोरलाई नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण आधारका रूपमा चित्रण गरेका छन्। उनले चीन र भारतजस्ता विशाल जनसंख्या भएका मुलुकबीच अवस्थित नेपालले सडक पूर्वाधारको प्रभावकारी उपयोग गर्न सके पर्यटनमार्फत ठूलो आर्थिक लाभ लिन सक्ने विश्वास गरेका छन्।

‘यो कोरिडोरलाई दिनहुँ व्यस्त बनाउन सकिए करिब तीन अर्ब जनसंख्याको बीचका हाम्रा घरआँगन पर्यटकले भरिभराउ हुने थिए,’ उनले लेखेका छन्। विशेषगरी मुक्तिनाथ र लुम्बिनीलाई जोड्ने धार्मिक पर्यटनको सम्भावनातर्फ उनले ध्यानाकर्षण गराएका छन्।

मुस्ताङको मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो भने रुपन्देहीको लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण तीर्थस्थल हो। यी दुई गन्तव्यबीच सहज यातायात, व्यवस्थित पर्यटकीय सेवा र प्रभावकारी प्रचारप्रसार हुन सके धार्मिक पर्यटनको नयाँ मार्ग विकास गर्न सकिने सम्भावना छ।

यस्तो पर्यटन विस्तारले होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याउन सक्छ।

एक महिनाभित्र जालपादेवी केबलकार

ढकालको सुदूरपश्चिम भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष निर्माणाधीन जालपादेवी केबलकारको अवलोकन थियो। कैलालीको चिसापानीबाट राजकाँडा डाँडासम्म करिब चार घण्टा पैदल यात्रा गरेका उनले केबलकार सञ्चालनपछि उक्त क्षेत्रको पर्यटकीय आकर्षण अझ बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

उनका अनुसार अबको करिब एक महिनापछि चिसापानीबाट केबलकारमार्फत राजकाँडा पुग्न सकिनेछ। राजकाँडा क्षेत्रबाट जालपादेवी मन्दिरको दर्शन, ग्रेटवालको भ्रमण तथा कर्णाली नदीको मनोरम दृश्यावलोकन गर्न सकिने उनले बताएका छन्।

‘जहाँ जालपादेवीको दर्शन, ग्रेटवालको भ्रमण र यो रमणीय डाँडालाई दाहिने फन्को पारेर सलल बगिरहेको कर्णालीको अलौकिक दृश्यावलोकन गर्न सकिनेछ,’ ढकालले आफ्नो अनुभवमा उल्लेख गरेका छन्। यसले सुदूरपश्चिमको पर्यटनलाई नयाँ पहिचान दिनुका साथै स्थानीय स्तरमा रोजगारी, व्यापार र सेवा व्यवसाय विस्तार गर्ने सम्भावना पनि बोकेको छ।

‘नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्’

पछिल्लो समय प्राकृतिक विपत्तिबाट मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको सन्दर्भमा ढकालले पर्यटन क्षेत्रप्रति नकारात्मक धारणा बन्न नदिन आग्रह गरेका छन्। उनले विपत्तिबाट प्रभावित मुलुकलाई पुनः उभ्याउन आर्थिक गतिविधि चलायमान बनाउनु आवश्यक रहेको बताएका छन्।

‘अब हामीले शब्दले मात्र होइन, आफैँले यात्रा गरेर संसारलाई सन्देश दिनुपर्छ। नेपाल सुरक्षित छ, यहाँ घुम्न आउनुहोस्, हाम्रा हिमालसँग साक्षात्कार गर्नुहोस् र पहाडका पदमार्गको ट्रेकिङमा रमाउनुहोस्,’ ढकालले आह्वान गरेका छन्।

उनको यो सन्देशले विपत्तिपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि व्यवसायी, सरकार र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको विषयलाई जोड दिएका छन्। यद्यपि विपद् प्रभावित क्षेत्रका सडक, पदमार्ग तथा पर्यटकीय संरचनाको अवस्था मूल्यांकन गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्नु पनि पर्यटनप्रतिको विश्वास कायम राख्ने महत्त्वपूर्ण आधार हो।

मनोरञ्जन मात्र होइन पर्यटन

ढकालले पर्यटनलाई केवल घुमफिर र मनोरञ्जनको विषयका रूपमा नबुझ्न आग्रह गरेका छन्। उनका अनुसार पर्यटनसँग लाखौँ नेपालीको रोजगारी, आयआर्जन र मुलुकको समग्र अर्थतन्त्र जोडिएको छ।

पर्यटकको आगमन बढ्दा ठूला होटल र पर्यटकीय प्रतिष्ठान मात्र होइन, गाउँका साना पसल, स्थानीय कृषि उत्पादन, यातायात व्यवसाय, पथप्रदर्शक र घरेलु उद्यमसमेत लाभान्वित हुन्छन्।

‘पर्यटन केवल मनोरञ्जन र घुमफिर मात्र होइन, लाखौँ नेपालीको रोजगारी र राष्ट्रिय अर्थतन्त्रको दरिलो पिल्लर पनि हो,’ ढकालले भनेका छन्।

बागलुङदेखि कैलालीसम्मको उनको यात्राले नेपालमा विस्तार भइरहेको सडक सञ्जाल, धार्मिक गन्तव्य र नयाँ पर्यटकीय पूर्वाधारलाई एउटै आर्थिक अवसरका रूपमा जोडेर हेर्नुपर्ने सन्देश दिएको छ।

चन्द्र प्रसाद ढकाल जालपादेवी केबलकार नेपाली पर्यटन

ट्रेन्डिङ ( साप्ताहिक )