Logo
२२ भदौ २०८२, आईतबार

तनहुँ जलविद्युत् आयोजना : बन्यो ५६० मिटर सुरुङ

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ०५:११ मा प्रकाशित

तनहुँ १ मंसिर। तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने काम सकिएको छ। जम्मा एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ।

विद्युतगृह अन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए।

बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ। उनले भने, “आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ।”

प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युतगृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ।

पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए।

सो प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ। त्यसैगरी, प्याकेज दुई अन्तर्गतको विद्युतगृह खन्ने कामसमेत सम्पन्न भइसकेको छ।

आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ।

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ। सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि प्रारम्भ भएको हो।

सिनोहाइड्रो कम्पनीले ४३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ दुई सय ८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने तीन सय १४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ।