Logo
८ वैशाख २०८१, शनिबार

शीर्ष नेता को कहाँबाट गर्दैछन् मतदान

अक्षरपाटी
२०७९ मंसीर ३ , शनिबार ०८:११ मा प्रकाशित

काठमाडौं ३ मङ्सिर।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् ।   प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ ।

प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछन्  ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् । उनी रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन् ।  अध्यक्ष दाहाल चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् ।

लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । उनी सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै गर्दैछन् । उनी सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन् । महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल,  राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नेछन् ।

 आफैँलाई मतदान गर्न नपाउने नेता  

आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले कतिपय शीर्ष नेताले आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री डा शशांक कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले  आफैँलाई मतदान गर्न पाउने छैनन् ।

मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले उनीहरुले आफैँलाई भोट दिन नपाउने भएका हुन्।

 

निर्वाचन