Logo
१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसको लोकतान्त्रिक बगैंचामा फक्रिएका गगनहरु

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०७:१२ मा प्रकाशित

० शिवराज योगी

यसै वर्ष सम्पन्न एमालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैगर्दा साबिकका पार्टीअध्यक्ष केपी ओलीविरुद्ध उम्मेदवारी दिने आँट कसैले गर्दैगरेन ।

पार्टीमा त्याग, तपस्या, संघर्ष, अनुभव, योगदान, बलिदानी र आफूसँग विद्वता भएको बताइरहने दोस्रो दर्जाका भीम रावलबाहेक कुनै पनि नेताले ओलीसँग प्रतिस्पर्धा त परको कुरा चुइँक्क बोल्नेसम्म हिम्मत र साहस देखाएनन्।

कारण थियोः संघीय लोकतान्त्रिक राज्य व्यवस्थाको संसदीय अभ्यास गरिरहेको भनिएको नेकपा एमाले पार्टीमा आन्तरिक लोकतन्त्र शून्यप्राय हुनु वा बर्जित गरिनु । र त नेकपा फुटको अवस्थामा पुर्याएर पार्टीमा एकल हैकम चलाइरहेका पार्टीअध्यक्ष केपी ओलीले आफूसँग प्रतिस्पर्धा गरेको प्रतिसोध मंसिरमा सम्पन्न निर्वाचनमा भीम रावलको टिकट खोसेर लिए।

बरु एमालेकोभन्दा बढी लोकतान्त्रिक चरित्र र हिम्मत ‘परम्परावादी शक्ति’ भनिएको राप्रपामा देखियो । सँधै पार्टी नेतृत्व एउटैमा रहनु हुँदैन, पुस्तान्तरण र नेतृत्व परिवर्तन आवश्यक छ भनेर राजेन्द्र लिङदेन नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिए र निर्वाचन जिते।

नेपाली कांग्रेस यो मुलुकमा प्रजातन्त्रको बिजारोपणकर्ता दल हो । प्रवाशमा प्रशव पीडाबाट जन्मिएको यो पार्टीले मुलुकमा १०४ वर्षीय कालरात्रीका विरुद्ध लडेर मुलुकमा पहिलोपटक प्रजातन्त्र स्थापनाको जस बोकेर हिँडेको छ ।

लेखक

यस्तो पुरानो र एतिहासिक पार्टीमा लोकतन्त्रको उच्चतम अपेक्षा जति जायज हो, त्यो नहुनु भनेको त्यत्तिकै नाजायज पनि हो । त्यसैले त पार्टीको आन्तरिक होस वा राष्ट्रि राजनीतिमा अनेकन आयामहरु नेपाली कांग्रेसमा देख्न पाइन्छ।

धेरै परको दृष्टान्त नलिउँ । केही समयअघि मात्रै सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा मात्रै तत्कालीन अवस्थामा बहालवाला पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध फरक खेमाका शेखर कोइराला मात्र होइन देउवाकै निकट पात्र मानिँदै आएका विमलेन्द्र निधिदेखि प्रकाशमान सिंहसम्मले उम्मेदवारी दिए।

त्यसबेला पनि यसलाई धेरैले धेरै कोण र दृष्टिबाट व्याख्या गरे । तर कतिले लोकतान्त्रिक पार्टीमा अबलम्बन गरिएको लोकतान्त्रिक पद्धतिको अभ्यास र उदाहरणका रुपमा व्याख्या गरे । कतिले त ‘यस्तै प्रतिस्पर्धाबाट हो नयाँ नेतृत्वको उदय र हस्तान्तरण’ भनेर समेत विश्लेषण गरे।

तर ‘लोभ र लेनदेन’को राजनीतिका कारण पौडेल मैदानमै आएनन्, निधि र सिंहले आफूभित्र रहेको नेतृत्वको सम्भावनालाई देउवामा समर्पित गरेको आरोप खेपे । दुई प्रतिस्पर्धिले देउवाका लागि गरेको ‘समर्पण’का सामु शेखरले देखाएको साहस र अदम्य अडानको केही चलेन र उनी निवाचनको अंकगणितमा दोस्रोपटकमा फेल भए । तर उनले आफूलाई राजनीतिक सँस्कार बोकेको नेताका रुपमा स्थापित गरे । जुन अहिले संसदीय दलको नेता चयका क्रममा पनि उनले प्रमाणित गरेका छन्।

कांग्रेसमा नेतृत्वलायका अन्य नेता नभएका होइनन् । रामचन्द्र पौडेल, कृष्ण सिटौला, पूर्णबहादुर खडका, बालकृष्ण खाँड जो करिब करिब देउवाकै समयकालका राजनीतिज्ञ हुन । तर उनीहरुमा नेतृत्वको चट्टानी अगान देखिएन।

दोस्रो पुस्ताका शशांक कोइराला, मिनेन्द्र रिजाल, एनपी साउँद, धनराज गुरुङलगायत पनि उम्दा नेताका रुपमा हेरिँदै आएका पात्र हुन् । तर उनीहरुले देउवालाई नेताका रुपमा त स्वीकारे तर सिक्न केही नसकेको बुधबार सम्पन्न हुन गइरहेको संसदीय दलको निर्वाचनसम्म आइपुग्दा प्रमाणि भएको छ । २०४७ को प्रजातन्त्रस्थापना अघिदेखि नै राजनीतिमा सक्रिय तमामौँ नेताहरुले दशकौँ लामो राजनीतिपछि पनि आफूलाई नेतृत्वको काबिल नठान्नु उनीहरुको नेतृत्व क्षमताप्रतिनै प्रश्न हो।

यतिबेला नेपाली कांग्रेसले आगामी प्रधानमन्त्रीको नेतृत्वका लागि संसदीय दलको नेता छान्दैछ । उक्त प्रतिस्पर्धामा ७६ टेकेका पार्टी सभापति देउवा र ४६ को हाराहारीका पार्टीका महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

यतिबेला नेपाली कांग्रेसले आगामी प्रधानमन्त्रीको नेतृत्वका लागि संसदीय दलको नेता छान्दैछ । उक्त प्रतिस्पर्धामा ७६ टेकेका पार्टी सभापति देउवा र ४६ को हाराहारीका पार्टीका महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

देउवा समर्थकको भनाइ छ ‘उहाँले चाहना गर्नुभयो, त्यसैले उहाँको विकल्प हुन सक्दैन । (कतिपयले त ज्योतिसले नै सात पटक प्रधानमन्त्री भनेकाले पनि विकल्प छैन भन्ने ‘मान्यता’ पेश गरिरहेका छन)’ गगनका समर्थकको भनाइ छ, ‘यो केवल उमेरको कुरा मात्रै होइन, सोच, शैली र योजनाको आवश्यकता पनि हो । यो प्रवृति र दृष्टिकोणको सवाल पनि हो । पुस्तान्तरण समयको माग हो ।’

हो, यतिबेला देउवा सरकारको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भएको छ । देशमा दुई तहका सरकार बन्ने क्रममा छन् । आफूले गरेको कर्मको परिणामको अपेक्षा गर्नु अस्वाभाविक पनि नहोला।

देउवाले नै निर्वाचन सम्पन्न गराएर दललाई पहिलो बनाएको तर्क सही होला । तर समानुपातिकको नतिजा हेर्ने हो पाँच पार्टीसँगको गठबन्धनबाट पनि कांग्रेस पहिलो दल बन्न सकेन । अझ त्योभन्दा गहिरिएर हेर्ने हो भने २०७४ को निर्वाचनमा मतदाता कम थिए, तर पार्टीको समानुपातिक मत ३१ लाखभन्दा बढी थियो, यसपटक मतदाता बढी थिए तर पार्टीले २७ लाखको आसपासमा मात्रै मत आर्जन गरेको छ। अंक गणीतीय खेलकै कुरा गर्ने हो भने पनि पार्टीको आकर्र्षण बढेको होइन, घटेको छ।

यो किन त ? हो देउवालाई सत्तामा देखाएर आफू लाभ उठाउने केही लोभीपापी चरित्रहरुको उपज हो भन्ने टिप्पणी कांग्रेसवृतमै हुने गरेको छ।

२०७४ को निर्वाचनमा पनि कांग्रेसले सत्तास्वार्थका लागि जन्मँदै कांग्रेस कार्यकर्तालाई हँसिया हथौडामा मदतान गर्न लगायो । यो शिलशिला २०७९ को स्थानीय र आम निर्वाचनसम्म पनि चलिरह्यो । जसका कारण जीवनभर कांग्रेसको आस्था र आदर्शमा हुर्किएका कैयौँ कांग्रेसीको चित्त दुख्यो र त्यसको प्रभाव ब्यालेटमा देखिएको विश्लेषण हुनेगरेको छ।

त्यो मात्रै होइन पार्टीहरुको स्वैच्छाचारिता, सत्तालिप्सा र जनउत्तरदायित्वमा उदासिनताको परिणाम स्थानीय निर्वाचनमा बालेन शाह, हर्क राई, गोपी हमालहरु मात्रै उदायनन्, सञ्चारकर्मबाट भरखरै राजनीतिमा प्रवेश गरेका रवि लामिछानेहरु, विवादिन पृष्ठभूमी  भएको जनमत पार्टी राष्ट्रिय दलका रुपमा उदायको सत्य सबैकासामु छ।

त्यो मात्र होइन यथास्थितिवादी लोकतन्त्र र संघीयता विरोधी भनिएका दलहरु पनि सम्पन्न निर्वाचनमा आफ्नो आयतन फराकिलो बनाउन सफल भए भने लामो समय राष्ट्रिय राजनीतिका खेलाडीको रुपमा देखिएका राजनीतिज्ञहरुको नेतृत्वमा रहेको दल राष्ट्रिय पार्टीसम्म बन्न सकेन।

राजनीति दल र त्यसको नेतृत्वकर्ताहरुले पक्रन नसकेको समयको लय र आफूअनुकूल मात्रै गर्ने निर्णयको परिणाम पार्टीले भोगिरहेको कुरा विश्वप्रकाश, प्रदीप र धनराजहरुले पनि राम्ररी महसुस गरिरहेका थिए ।

तर उनीहरु उचित सयमको पर्खाइमा थिए। र त, निर्वाचन मिति घोषणा नहुँदै संसदीय दलमा दाबी गर्ने उद्घोष गरेका गगनलाई विश्वप्रकाशले साथ दिने बताए । उनले चुनावी मैदानमा पनि आफू गगनको प्रस्तावक बस्ने उदघोष गरेर आफूलाई नै जोखिममा राखे तर योग्य, सक्षम र नयाँ सोचसहितको पुस्तामा जुनियर भए पनि नेतृत्व दिनुपर्छ भन्ने सन्देश प्रवाह गरे। राजनीतिमा वचनवद्धताकाे महत्व स्थापित गरे।

प्रदीप पौडेल जसले आफूलाई पार्टीमा केन्द्रीय सदस्य हुँदै महामन्त्रीको उम्मेदवारदेखि सांसदको टिकटसम्म दिलाए, उनै नेतालाई समेत ‘कन्भिन्स’ गरेर ‘अब राजनीतिमा मपाइँत्व होइन, मतदाताको मन बुझ्नुपर्छ’ भन्दै गगनको समर्थन गर्न आइपुगे । यसपटक कांग्रेस संसदीय दलको निर्वाचनले अब पुरातन होइन नवीन सोचसहितको नेतृत्व आवश्यक छ भन्ने सन्देश युवाहरुको एकत्रित निर्णयले दिएको छ।

‘इच्छा राख्न पाइन्छ, बन्ने र बन्नुपर्ने देउवा नै हुन’ भन्ने ‘समर्पणवादी’ले बुझ्नैपर्ने के हो भने आज गगनले झै २०५२ सालमा देउवाले पनि गिरिजाप्रसाद कोइरालकासामु दाबी नगरेको भए उनी सायद आजका शेरबहादुर देउवा बन्ने थिएनन् । उनी छैटौँपटक प्रधानमन्त्रीको दाबी गर्ने हैसियतमा हुने थिएनन्।’

हो, ०५२ पछि केही काण्डहरुको आरोपबाहेक देउवाले मुलुकको लोकतन्त्र, प्रजातन्त्र र संघीय व्यवस्थाका लागि गरेको योगदान बिर्सन हुँदैन । उनको अनुभव, योगदा, त्याग र लगानीको कदर गर्नैपर्छ । तर त्यो भनिरहँदा समयको भाका नबुझ्ने हो भने आगतमा पार्टीको अस्थित्व र पार्टीप्रतिको मोह नै भंग भएर जाने कुरा महामन्त्री गगन थापाले बुझेरै चुनावमा होमिँदाताका नै आफूलाई भोलिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे।

यसमा ‘इच्छा राख्न पाइन्छ, बन्ने र बन्नुपर्ने देउवा नै हुन’ भन्ने ‘समर्पणवादी’ले बुझ्नैपर्ने के हो भने आज गगनले झै २०५२ सालमा देउवाले पनि गिरिजाप्रसाद कोइरालकासामु दाबी नगरेको भए उनी सायद आजका शेरबहादुर देउवा बन्ने थिएनन् । उनी छैटौँपटक प्रधानमन्त्रीको दाबी गर्ने हैसियतमा हुने थिएनन्।

यो कुरा देउवाको ‘देवत्वकरण गरेर हात चाट्नेहरु’ले नबुझे पनि पंक्तिकारलाई के विश्वास छ भने देउवाले भने पक्कै बुझेका छन्, मनन गरेका छन् र मनमनै गगनप्रति गर्वित पनि होलान् । र भनिरहेका होलान्–स्वाबास राजनीतिमा आँटिलो कदमका लागि । किनकि देउवा आफू पनि परिवर्तनको चाहना बोकेर आँटले उदाएका नेता हुन्।

देउवा समय, संघर्ष र चुनौतीबाट जन्मिएका नेता हुन् । उनले ०५२ मा गिरिजाबाबुलाई चुनौती नदिएको भए, गिरिजाबाबुसँग बराबरीको दाबी गर्दै पार्टीसम्म नफुटाएको भए सायद आज उनको स्थान नेपाली राजनीतिमा यति उँचो हुने थिएन । ‘राजनीतिमा सफलता दासत्वबाट होइन, दाबीबाट हुन्छ’ भन्ने शिक्षा र अनुभव देउवालाई राम्रोसँग छ।

समयको आह्वान र राजनीतिमा अडानको आधार यतिबेला गगन थापाले पक्रिएका हुन् । उनी कसैको भाग खोस्न भन्दा पनि उनकै भाषामा देशको भविश्य खोज्न निस्किएका हुन्।

हो, ८९ सदस्यीय कांग्रेस संसदीय दलमा अंकगणितीय हिसाबमा देउवा बलिया पक्कै छन् । उनलाई हराएर नेता चुनिनु नेपाली कांग्रेसको किताबमा अर्को इतिहास लेखिनु हो । तर पनि देउवाले हुकुमी शैली नअपनाएर चुनावी प्रतिस्पर्धामा आफै होमिएर लोकतान्त्रिक सँस्कारको उच्चतम उदाहरण पेश गरे।

‘हुन त समय र युगले मागिरहेको पुस्तान्तरण देउवाले आफ्नै हातले गरिदिएको भए उनको उँचाइको आयतन झन फराकिलो र सम्मानको आकार सँधैभरिलाई विशाल हुने थियो होला।’

हुन त समय र युगले मागिरहेको पुस्तान्तरण देउवाले आफ्नै हातले गरिदिएको भए उनको उँचाइको आयतन झन फराकिलो र सम्मानको आकार सँधैभरिलाई विशाल हुने थियो होला।

देउवाले जसरी लोकतान्त्रिक पद्धतिको स्वागत र सम्मान गरे हो त्यसरी नै गगनले आफूलाई आफ्नो अभिभावकसँगै प्रतिस्पर्धी बनाएर सबल नेतृत्वको उदाहरण र आँट प्रस्तुत गरेका छन्।

बुधबारको संसदीय दलको निर्वाचनमा को जित्ला, को हार्ला ? भन्ने सवाल महत्वपूर्ण होइन । सवाल परिवर्तनका लागि कोरा गफले हुँदैन, युवामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने आदर्श छाँटेर हुँदैन, आँटेर देखाउनुपर्छ भन्ने उदाहर गगनले पेश गरेका छन्।

सायद देउवाले पनि जीवनको उत्तरार्धमा अब आफ्नो देवत्वकरण गर्ने होइन, नेतृत्व गर्ने उत्तराधिकारी खोजिरहेका हुनुपर्छ । त्यसैले उनले गगनसँगको प्रतिस्पर्धालाई हाँसीहाँसी स्वागत गरे र हाँसीहाँसी थापासँगै मनोनयन दर्ता गराए।

यतिबेला कांग्रेसमा भइरहेको संसदीय दलको निर्वाचन पार्टी सभापति देउवा र महामन्त्री थापाबीचको प्रतिस्पर्धा मात्रै होइन, सुटुक्का हुकुमी शैलीमा नेता चुनेर आफूलाई देशको नेतृत्व गर्ने प्रधानमन्त्रीको उम्मेदवार बनाइरहेका अन्य दलका नेताहरुका लागि पनि ठूलो लोकतान्त्रिक पाठ हो।

कांग्रेस शिवराज योगी संसदीय दल