



काठमाडौं । यात्रुहरूलाई थप सहजता प्रदान गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा ‘पिक एण्ड ड्रप’ सेवा प्रयोग गर्ने सवारीसाधनलाई १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था लागू गरिएको छ।
विमानस्थल कार्यालयका अनुसार यात्रु पुर्याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई मध्यनजर गर्दै ‘पिक एण्ड ड्रप’का लागि निःशुल्क समयावधि ७ मिनेटबाट बढाएर १५ मिनेट पुर्याइएको हो।
विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रु तथा सेवाग्राहीबाट प्राप्त सुझावका आधारमा परीक्षणस्वरूप एक महिनाका लागि १५ मिनेटसम्म पार्किङ शुल्क नलिने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार यसअघि कायम रहेको ७ मिनेटको समयावधि पर्याप्त नभएको गुनासो आएपछि नयाँ व्यवस्था लागू गरिएको हो।
उनले भने, ‘परीक्षणका लागि एक महिनासम्म १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्ने सवारीसाधनबाट पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ। यस व्यवस्थाविपरीत शुल्क असुल गर्ने व्यक्ति वा संस्थामाथि आवश्यक कारबाही गरिनेछ।’
विमानस्थल कार्यालयले सेवाग्राहीलाई तोकिएको समयभित्र ‘पिक एण्ड ड्रप’ सेवा उपयोग गर्न तथा अनावश्यक भीडभाड नगर्न समेत आग्रह गरेको छ।
त्रिभुवन विमानस्थल


