Logo
९ पुस २०८१, मंगलबार

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

अक्षरपाटी
२०७९ पुस १५ , शुक्रबार १२:१२ मा प्रकाशित

१५ पुस, काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहनदिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले  जानकारी दिए ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न यो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ ।