



काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले मृतक र घाइतेको संख्या पुष्टि गर्दै खोज तथा उद्धार कार्य जारी रहेकाले क्षतिको विवरण अझ बढ्न सक्ने बताएकी छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले यसअघि भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको आकलन गरेको थियो।
राजधानी कराकासलगायत प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेषभित्र फसेकाहरूको खोजीमा जुटेका छन्। केही स्थानमा भग्नावशेषमुनि रहेका मानिसहरूले सहयोगका लागि पुकार गरिरहेको बीबीसीले जनाएको छ।
भूकम्पका कारण राजधानीका धेरै भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ।
स्थानीय समयअनुसार साँझ ६:४ बजे आएका ७:२ र ७:५ म्याग्निच्युडका भूकम्पको केन्द्र राजधानीको पश्चिम क्षेत्रमा रहेको बताइएको छ। यसको धक्का छिमेकी देश कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो।
भूकम्प आएको दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिसहरू घरमै रहेका थिए, जसका कारण मानवीय क्षति बढेको अनुमान गरिएको छ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका तत्काल खोज तथा उद्धार टोली, चिकित्सकीय सामग्री तथा मानवीय सहायता भेनेजुएला पठाइरहेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले भूकम्पमा ज्यान गुमाउनेका परिवार, घाइतेहरू तथा उद्धार कार्यमा खटिएका उद्धारकर्मीहरूप्रति समवेदना व्यक्त गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सहायता टोलीहरू भेनेजुएली अधिकारीहरूसँग समन्वय गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गरिरहेका छन्।
भेनेजुएलामा भूकम्प


