Logo
१५ चैत्र २०८०, बिहीबार

जनताका कामलाई सरल बनाउन ७७ जिल्लाकै प्रजिअलाई गृहमन्त्रीको निर्देशन

अक्षरपाटी
२०७९ पुस १८ , सोमबार ०१:०१ मा प्रकाशित

काठमाडाैं। उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

नेपाल सरकारको प्रतिनिधिको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी तथा जिल्लामा शान्ति सुरक्षा तथा अमन चयनका लागि खटिने सुरक्षाकर्मीहरुलाई निर्देशनको क्रममा आज गृह मन्त्रालयमा मन्त्री लामिछानेले भर्चुअल संवोधन गरेका हुन्।

उनले बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन विपद् व्यवस्थापनका तयारीमा लाग्न निर्देशन दिएका हुन्।

यसका लागि आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने बताए। साथै विपद्को सामना गरिरहेका नागरिकसामु सकेसम्म आफै पुग्न र दुखमा परेकाहरुलाई अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धताका लागि पनि प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री लामिछानेले निर्देशन दिए।

नागरिकका गुनासो तथा समस्यालाई सधै उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन पनि निर्देशन दिइएको छ।

सुशासनलाई ध्यानमा राखेर भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता प्रति आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेकाे उनको भनाइ थियो। कुनै पनि व्यक्ति वा संयन्त्रयको दबाब र प्रभावमा नपर्न समेत गृहमन्त्री लामिछानेको निर्देशन दिए।

नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झण्झ  र रुखो व्यवहार भोग्नुपर्ने गुनासो आजैका मितिबाट हटाउन पनि उनले निर्देशन दिए। सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मन्त्रालयबाट आवश्यकतानुसार थप सहजीकरण गरी  कानून, साधन र स्रोतको सीमामा रही सम्पादन गर्न आग्रह गरे।

उनले सुधार गर्नुपर्ने, गर्न सकिने एवं प्रकृया सरलीकरणका विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाहमा सुधार गरि कार्यान्वयन योजना बनाएर पठाउन निर्देशन दिए।

यसका साथै मुलुकभर मिटरब्याजीको मारमा परेका नागरिकले अझै सुनुवाई नभएको गुनासो गरिरहेकाले यसप्रति पनि सम्बन्धित अधिकारीहरुको ध्यानाकर्षण हुनुपर्ने स्मरण गराए।

चोरी निकासी तथा पैठारीमा संलग्न हुनेहरुलाई यथाशिघ्र कानुनको दायरामा ल्याउन र जिल्ला प्रशासन कार्यालयहरुबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवाका साथै प्रहरी मार्फत हुने शान्ति सुरक्षा लगायत नियमित सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय प्रमुखहरुलाई मन्त्री लामिछानेले निर्देशन दिए।

रवि लामिछाने