Logo
१३ माघ २०७९, शुक्रबार

रचनात्मक प्रतिपक्षीको भूमिकाबाट पनि चुक्यो भने कांग्रेस अझै चुक्नेछ

अक्षरपाटी
२०७९ माघ १२ , बिहीबार ०७:०१ मा प्रकाशित

स्वतः प्राप्त हुने प्रमुख विपक्षीको भूमिका आफ्नै बुद्धिले गुमाएको कांग्रेसले जसरी निवेदन हालेर सो हैसियन प्राप्त गर्यो अब सेवा सुविधामा मात्रै चित्त बुझाएर रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाहमा चुक्यो भने कांग्रेस अझै चुक्नेछ।

लेखक

० शिवराज योगी

चुनावअघिसम्म सहयात्री दल रहेको माओवादी केन्द्रलाई निर्वाचनसम्म साथमा लिएर हिँडेपनि चुनाव सकिएलगत्तै कांग्रेसले आफूसँग जोगाउन सकेन।

‘गठबन्धन संविधान रक्षाका लागि समयको आवश्यकता हो’ भन्ने नेपाली कांग्रेसकै कतिपय नेताहरुले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर हेरिदिँदा माओवादी केन्द्र तत्कालीन गठबन्धन भत्काएर एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर आड लिन पुग्यो।

चुनाव अघि दाहालको पार्टी माओवादी केन्द्रमा भोट हाल्न देशभरका कांग्रेसीलाई उर्दी जारी गर्ने कांग्रेस कोटरीका केही नेताहरुले नै चुनावपछि दाहाललाई प्रधानमन्त्री बनाउँदा ‘प्रलय’ नै हुने देखे। जसको परिणाम उनी कांग्रेस नेतृत्वको गठबन्धनमा अटाइरहन सकेनन्। परिणाम ‘न आँप झर्यो, न झटारो बाँकी रह्यो’।

जबकी मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली कांग्रेसले विगतमा ओरालो लागेको हैसियतमा मात्र सुधारेन, संसदकै सबैभन्दा ठूलो दलको हैसियत पनि प्राप्त गरेकाे थियो।

तत्कालीन सत्ता गठबन्धनको आँकडा हेर्ने हो भने कांग्रेस नेतृत्वकाे गठबन्धनसँग स्पस्ट बहुमत थियो। राजनीति विश्लेषण गर्नेहरुले त केसम्म भने भने -उसँगको शक्तिले कांग्रेस संघीयदेखि प्रदेशसम्म ‘ठूलो भाग पाउने’ अवस्थामा थियो।

संघीय सरकारको नेतृत्व प्रधानमन्त्री दाहाललाई दिँदा पनि सबैभन्दा धेरै र प्रभावशाली मन्त्री मात्रै होइन प्रदेश सरकारहरुमा पनि कांग्रेसको बाहुल्य हुने पक्का थियो।

आज प्रधानमन्त्री पाएर सभामुखदेखि राष्ट्रपतिसम्म एमालेलाई सुम्पन तयार बनेका दाहाल कांग्रेससँगको गठबन्धन कायमै रहेकाे भए यो अवस्था कांग्रेससँग पनि अस्वीकार गर्ने पक्षमा हुने थिएनन्, सहजै स्वीकार्थे भन्ने विश्लेषण विश्लेषकहरुको छ।

तर कांग्रेस संस्थापन पक्षकै केही नेताले आफू केन्द्रित स्वार्थ अगाडि सारिदिँदा र परिस्थितिको यथार्थ आकलन नेतृत्वले नगरिदिँदा ‘इतिहास रच्ने’ ध्याउन्नमा सारा अवसर मात्रै गुमेन अरुलाई दिनसक्ने कांग्रेसको हैसियत पनि गुम्यो। र कांग्रेस हार्ने ठाउँमा पनि च्याँखेदाउ थाप्न विवस भयो।

कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माको शब्द सापटी लिएर भन्ने हो भने माओवादीका दाहालसँग डिभोर्सपछि बसेको कांग्रेसको मायाले विश्वासको मत दिने निर्णय गर्‍यो। जसका कारण धेरैले गुमाएकाे भनेर व्याख्या गरेकाे र गुम्न खोजेको कांग्रेसको प्रमुख प्रतिपक्षी दलको हैसियत बल्ल संसद सचिवालयले प्रदान गरिदिएको छ।

पुस्तौँदेखिका कांग्रेसीलाई हसिँयाहथौडामा भोट हाल्न उर्दी जारी गर्ने कांग्रेसी नेताहरुकै आफूकेन्द्रित स्वार्थका कारण मुखमा आएको अवसर गुमाउँदा ‘वाल्ल’ परेको नेतृत्वले त प्रतिपक्षीको हैसियत र सुविधा पाउँदा थोरै राहत महसूस गरेको होला तर सत्तामा पुगेकाहरु पनि त्यति धेरै उत्सुक र उन्मुक्त भने हुन सकेका देखिँदैनन्।

पुस्तौँदेखिका कांग्रेसीलाई हसिँयाहथौडामा भोट हाल्न उर्दी जारी गर्ने कांग्रेसी नेताहरुकै आफूकेन्द्रित स्वार्थका कारण मुखमा आएको अवसर गुमाउँदा ‘वाल्ल’ परेको नेतृत्वले त प्रतिपक्षीको हैसियत र सुविधा पाउँदा थोरै राहत महसूस गरेको होला तर सत्तामा पुगेकाहरु पनि त्यति धेरै उत्सुक र उन्मुक्त भने हुन सकेका देखिँदैनन्।

कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन विखन्डनको फाइदा यतिबेला सबैभन्दा बढी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुगेको छ। वर्तमान सरकार ओलीकै चाहनामा चल्न बाध्य भएको घटनाक्रमले पुष्टि गर्दै लगेको छ।

कांग्रेसले पुष्पकमल दाहाललाई आफूसँगै सहयात्राका लागि जोगाउन नसकेको फाइदा ओलीले सहजै उठाए। संसदको दोस्रो दल भए पनि एमालेले तेस्रो दलको हैसियतमा रहेको माओवादीलाई अघि सारेर त्यसमा चौथो, पाँचौ दलको हैसियतमा रहेका फरक उद्देश्य र विचारधाराका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत अन्य दललाई जोडजाम गरेर आफ्नो अभिष्ट पुरा गरिरहेको छ।

अहिलेको सरकारमा ओलीकै बोलवाला छ भन्ने कसरी पनि पुष्टि हुन्छ भने सरकार गठन भएको तीन सातापछि मात्रै मन्त्रिमण्डलले पूर्णता पाउन सक्यो। त्यो पनि बालकोट पुगेर दाहालले गरेको दिनभरको छलफलले मात्र यो सम्भव भएको थियो।

सरकारमा पठाइएका मन्त्री पनि ओलीको रोजाइ बमोजिम अनुहार चाहनाअनुसारकाे जिम्मेवारीमा रहेको चर्चा राजनीतिक वृतमा हुने गरको छ। आवरणमा सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष दाहाल देखिए पनि यसको ‘सुपरपावर’का रुपमा नेकपा एमालेका अध्यक्ष ओली देखिएका छन्।

नेकपा पार्टी विभाजनमा पुगिरहँदा एकअर्काका कटु आलोचक (एकअर्काको आलोचना गरेको भिडियो अहिले पनि हेरि र सुनि नसक्नुका छन) दाहाल र ओली अहिले एउटै टेबलमा लन्च गर्ने अवस्थामा पुग्नुको पछाडि सदासयताभन्दा धेरै चातुर्यता र उचित मौकाको पर्खाइका रुपमा पनि कतिपयले विश्लेषण गर्न थालेका छन्।

कांग्रेस नेतृत्वको गठबन्धनसँगको असन्तुष्टिलाई अवसरका रुपमा प्रयोग गरेर ओलीले दाहाललाई आफू अनुकूलको सरकार प्रमुख मात्र होइन आफूले चाहेको पदमा आफ्ना मान्छे सेट गर्ने सिँढीको रुपमा प्रयोग गरेको त सरकार विस्ता, प्रदेश सरकार गठनदेखि सभामुखसम्मको निर्वाचनले देखाइसकेको छ।

नयाँ सरकार गठनपछि ओलीले आफूले रोजे चाहेका व्यक्ति मन्त्रिपरिषदमा पठाउनु र सभामुख पनि उनैको रोजाइका पात्र हुनु मात्र होइन राष्ट्रपतिमा कांग्रेससँग सहमति गरेका अगाडि बढ्ने दाहालको चाहनामा ओलीले प्रतिक्रिया दिँदै ‘सहमति गर्ने हो तर राष्ट्रपतिको उम्मेदवार एमालेले दिन्छ, विश्वासको मतदिनेहरुले समर्थन गर्नुपर्छ’ भन्ने अभिव्यक्तिले पनि यो सरकारमा ओलीकै बोली बलियो छ भन्ने कतैबाट छिप्न सक्दैन।

त्यो मात्र होइन, हिजो आफ्नो नेतृत्वको सरकार हुँदा दुई दुईपटक प्रतिनिधिसभा विघटनको शक्त विरोधीका रुपमा देखिएका दाहाललाई प्रधानमन्त्रीमा थापना गरेर ओलीले उनकै अघिल्तिर संसदमा उभिएर भनिदिए ‘तत्कालीन अवस्थामा संसद विघटन गर्नु सही थियो। त्यो आज पनि सही थियो भन्छु’ भनिरहँदा दाहाल मौन बस्न विवश बने।

सरकारको नेतृत्व आवरणमा मात्र दाहाल र अन्तर्यमा सबै ओलीको हातमा भएको कुरा संसदमै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले याे सरकार पिँजडाकाे चरोजस्नै बनेकाे भनेर बोले।

वर्तमान सरकारको नेतृत्व आवरणमा मात्र दाहाल र अन्तर्यमा सबै ओलीको हातमा भएको कुरा संसदमै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले याे सरकार पिँजडाकाे चरोजस्नै बनेकाे भनेर बोले। यद्यपि वर्तमान सरकार ओलीकै पहलमा निर्माण भएको र उनकै हातमा शक्ति केन्द्रित हुने बुझ्दाबुझ्दै र जान्दाजान्दै पनि कांग्रेस आफैले पनि विश्वासको मत दिएको सम्झना कांग्रेसीले गर्नैपर्छ होला।

मन्त्रालय र मन्त्री भागबन्डा  होस वा  जनमत पार्टीले पाएको मन्त्रालय सम्हाल्नेदेखि जनता समाजवादी सरकारमा सहभागिताको मुद्दा बोकेर यी दलहरु सिंहदरबार कम बालकोट बढी धाउन वाध्य बने। यसले पनि ओलीकै बाेली बलियो छ भन्ने पुष्टि गर्छ।

ओलीले आफ्नो शासनकालमा संविधानको भावना विपरित दुईदुईपटक संंसद भंग गरेको र उनी निकट व्यक्ति मुलुकका सर्वोच्च निकायमा हुँदा ‘अध्यादेश’ समेत अलमलिएको सकस भोगे पनि कांग्रेसले मंसिरको आम निर्वाचनपछि गर्न नसकेको थोरै त्यागको परिणाम आज फेरि घुमिफिरी सत्ता र शक्तिको साचो ओलीकै वरीपरि घुम्न सफल भएको छ।

जसको स्वीकारोक्तिका रुपमा आइतबार कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरेको भेलामा व्यक्त गर्‍यो। पार्टीले दाहाललाई विश्वासको मत दिँने निर्णय गरिरहँदा ‘नोट अफ डिसेन्ट’ लेख्न नसके पनि अहिलेको सत्तामा ओलीको रजगज चल्नथालेपछि संस्थापन इतर समूहले भन्यो ‘दाहाललाई विश्वासको मत दिनु गल्ती थियो।’

यता कांग्रेस संस्थापन समूहले पनि आम निर्वाचनपछि गरेको गल्तीबाट सिकेर आफूलाई प्रमुख प्रतिपक्षीका रुपमा उभ्याइराख्न सकेन। ह्वीप नै जारी गरेर आफैले बिच्क्याएका दाहाललाई विश्वासको मत दिएर नजिकिन खोज्यो।

तर जब संसदमै उभिएर हिजो संसद भंग गर्नु सही थियो भन्नेसम्मको आवाज उठ्न थाल्यो तब भने कांग्रेस संसद सचिवालयमै निवेदन हालेर आफूलाई प्रमुखप्रतिपक्षी कायम गरिपाउँ भन्नपुग्यो।

स्वतः प्राप्त हुने प्रमुख विपक्षीको भूमिका आफ्नै बुद्धिले गुमाएको कांग्रेसले जसरी निवेदन हालेर सो हैसियन प्राप्त गर्यो अब सेवा सुविधामा मात्रै चित्त बुझाएर रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाहमा चुक्यो भने कांग्रेस सँधैका लागि चुक्नेछ।

आफ्नै सुभचिन्तक र आम जनताको जनरबाट अझै तल गिर्नेछ। फेरि उठ्न मुस्किल हुने गरि। आफूलाई इतिहास बोकेको भन्न रुचाउने पार्टीले पटकपटक गरिरहने गल्तीका विकल्प हजार छन् भन्ने मानसिकतामा तमामौँ इमान्दार कांग्रेसी नपुग्लान भन्न सकिदैन। त्यतिबेला कतै निवेदन हालेर गिरेको साख र भत्किएको संगठन फिर्ता पाउन मुस्किल हुनेछ।

शिवराज योगी