Logo
१४ वैशाख २०८१, शुक्रबार

रवि लामिछाने आजै नागरिकता पुनः प्राप्ति गर्दै, फेरि गृहमन्त्रीको सम्भावना !

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं। निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आजै नागरिकता पुनः प्राप्ति प्रक्रिया थाल्ने भएका छन्।

सर्वोच्च अदालतले नेपाली नागरिकता पुनः प्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेअनुसार लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति प्रक्रियामा गएको उनी निकट स्रोतले जनाएको छ।

सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै उनको नागरिकता खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो।

उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति प्रक्रिया पुरा गरेका थिएनन्। पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेकामा त्यसलाई अदालतले अमान्य ठहर गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्तिका लागि उनी आज प्रक्रियाका लागि पुगेको उनी निकट स्रोतले बताएको छ।

अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानोनागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन कठिन नहुने जानकारहरु बताउँछन्।

नागरिकता पुनः प्राप्तिका लागि उनी जिल्ला प्रशासन कार्यालय पुगेको र सम्भवतः आजै नागरिकता पुनः प्राप्ति गर्ने प्रशासन स्रोतले बताएको छ।

रविले सबैभन्दा पहिला नागरिकता पुनः प्राप्ति थालेर नयाँ नागरिकता प्राप्त गर्नासाथ उनी नेपाली नागरिक ठहरिनेछन्। त्यसपछि पुनः उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुने बाटो खुल्नेछ। त्यो मात्रै नभएर चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन कुनै वाधा पर्ने छैन।

लामिछानेले नागरिकता पुनः प्राप्ति गरेमा उनी पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री बन्नसक्ने बाटो खुल्ने छ ।

तर उनले ६ महिनाभित्र चुनाव जितेर आउनुपर्नेछ। रविलाई चितवन २ मा हुने उपनिर्वाचनमा जित हासिल गर्न यस घटनाले झनै सहज हुने आकलन गरिएको छ। नागरिकता प्राप्त भइसकेपछि कसरी अगाडि बढ्ने भन्ने बारे अहिले नै गहन छलफल भने भइनसकेको लामिछाने निकट स्रोतले जनाएको छ।

उनी आफै वा रास्वपाबाट अन्य कसैलाई गृहमा पठाउने भन्नेबारे निर्णय नभैसकेको बुझिएको छ।

रवि लामिछाने