काठमाडौं १ फागुन। आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । २०५२ साल फागुन १ गते आजैका दिन माओवादीले जनयुद्ध सुरु गरेको थियो।
शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।
जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
सरकारले बिदा दिएकोप्रति जनयुद्धका घाइते र बेपत्ताका परिवारले पनि आपत्ति जनाएका छन्। उनीहरुले आज सिंहदरबार गेट अगाडि धर्नाको कार्यक्रम आह्वान गरेका छन्।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट कम्तिमा १७ हजारको मृत्यु र त्यतिकै संख्यामा घाइते भएका थिए । केही अझै बेपत्ता छन्।
दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।