काठमाडौं २० फागुन। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले किसानले पाउनेगरी दूधको मूल्य ९ रुपैयाँ १० पैसा बढाएको छ।
यसपटक करिब १३ महिनापछि मूल्य बढाइएको हो। गत वर्ष माघ २७ मा ०७८ मा दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँ बढाएर किसानले ५६ रुपैयाँ पाउने भनिएको थियो।
तर उपभोक्ताले भने हाल प्याकेटको दूधको ८४ देखि ९० रुपैयाँ र डेरीको खुला दूधको १०० रुपैयाँ तिदै आएका थिए।
शुक्रकार सरकारले अब किसानले नै ६५ रुपैयाँ पाउने गरी ९ रुपैयाँ बढाउँदा ६५ रुपैयाँ पुगेको छ। तर उपभोक्ता मूल्य भने तोकिएको छैन।
बजारमा दूधको व्यापार गर्ने विचौलियाले पक्कै पनि १० रुपैयाँ बढाएर अब बजारमा प्याकेटको दूध कम्तिमा १०० र खुला दूधको मूल्य ११० पुग्ने चिन्तामा उपभोक्ता छ।
तर सरकारले अन्तिम उपभोक्ता मूल्य नतोकेर दूधमा ४५ रुपैयाँसम्मको चलखेल हुँदा पनि महंगीलाई प्रोत्साहन गरिरहेको उपभोक्ताहरुको गुनासो छ।
‘बजार छोइनसक्नु भइसक्यो, महिनाभरीको कमाइले परिवारको दुई छाक टार्नै पनि मुस्किल भयो’, एक निजी कम्पनीमो सुरक्षा गार्डको काम गर्दै आएकी शुसीला राईले भनिन्, ‘पोहोर १४ सय पर्ने २५ किलो चामलको मूल्य ८ महिनामै २४ सय पुग्यो, हाम्रा लागि कहाँ छ सरकार।’
उनले अब त बालबच्चालाई आधा लिटर दूध किनेर खुवाउन पनि सोच्नुपर्ने दिन आएको सुनाइन्।