Logo
१४ वैशाख २०८१, शुक्रबार

क्याम्ब्रिजका उत्कृष्ठ विद्यार्थीलाई मन्त्रीबाट पुरस्कार

अक्षरपाटी
२०७९ फागुन २५ , बिहीबार ०६:०३ मा प्रकाशित

काठमाडौं । क्याम्ब्रिज पब्लिक हाइस्कुलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरेको २३औं अभिभावक दिवस तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सांस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका नारी स्रष्टा एवं विद्यालयका उत्कृष्ठ छात्रछात्रालाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री किरातीले शिक्षालाई मौलिक संस्कृति र जीवनसँग जोड्नु पर्ने बताए । ‘देशमा अवसर नपाउने, श्रोतसाधन नहुनेमात्र होइन सबै कुरामा सम्पन्न विद्याथीहरु पनि विदेशिने क्रम बढेको छ’, मन्त्रि किरातीले भने, ‘हाम्रो शैक्षिक प्रणालीमा कहिँ न कहिँ त्रुटी हुन सक्छ । त्यसलाई सच्याएर शिक्षालाई मौलिक संस्कृति, जीवन र जिविकोपार्जनसँग जोड्न सक्नुपर्छ ।’

कार्यक्रममा मन्त्रि किरातीले लोकप्रिय गायिका कुन्ति मोत्तान, साहित्यकार एवं समाजसेवी विन्दु अधिकारी ढकाल, मिस मंगोल नेपाल २०१९ सिभिरा लामा र बैंकर दिपा बुढाथोकीलाई नारी सम्मान प्रदान गरेका थिए।

सो अवसरमा विद्यालयमा अध्ययनरत उत्कृष्ठ छात्रछात्रालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। समिका टेछु श्रेष्ठ प्रिन्सिपल अवार्ड, संस्कृत दाहाल स्टुडेन्ड अफ द इयर, एलिसा श्रेष्ठ मस्ट डिर्जभिङ स्टुडेन्ट र चण्डी शाह, सत्यप्रकाश साह र अम्सु गिरी म्याथ मास्टर अवार्डबाट सम्मानित भए।

त्यसैगरी कञ्चन पण्डितले मस्ट सोसलाइज्ड स्टुडेन्ट, अम्सु गिरीले मस्ट डिस्सिप्लिन स्टुडेन्ट, सुविक्षा रिमालले इन्डुरेन्स अवार्ड, सुविना खड्का र आशकुमार थारुले प्लेयर्स अफ द इयर, बासु पाण्डे, दीपिका बुढाथोकी, संयोग राई र रुपमांग लुइटेलले इमर्जिङ प्लेयरको अवार्ड हात पार्न सफल भए । उनीहरुलाई मन्त्रि किरातीले ट्रफी प्रदान गरेका थिए।

कार्यक्रममा क्याम्ब्रिज पब्लिक हाइस्कुलमा अध्ययनरत विद्यार्थीहरुले अभिनय, प्रहसन, कविता, वाद्यवादन, गीत एवं नृत्य विधामार्फत आआफ्नो कला प्रस्तुत गरेका थिए । प्रिन्सिपल रीता राई दाहालले विद्यार्थीको गुणस्तरीय शिक्षा र उनीहरुमा निहित क्षमता विकासका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने बताइन्।

‘बदलिँदो समयअनुसारको शिक्षालाई आत्मासाथ गर्दै विद्यार्थीलाई नयाँ प्रविधि, सिप, खोज, अनुसन्धान, क्षमता विकासका साथै संस्कार र संस्कृतिसहित राष्ट्रिय भावना जागृत गराउने हाम्रो प्रयास हो’, रीताले भनिन्।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल, प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईलगायतले विद्यार्थीको प्रस्तुतिको प्रशंसा गरेका थिए।