


काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ।
देश शोकमा रहेका कारण यस वर्षको चियापान कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार पार्टीका संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन सौहार्दता अभिवृद्धि तथा शुभकामना आदान–प्रदानका लागि चियापान समारोह आयोजना गरेका थिए।
त्यसयता निश्चित कारणवश कुनै वर्ष कार्यक्रम आयोजना हुन नसकेको बाहेक नेपाली कांग्रेसले हरेक वर्ष सोही तिथिमा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो।
तर, यस वर्ष देशले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै कांग्रेसले परम्परागत चियापान कार्यक्रम नगर्ने निर्णय गरेको हो।
कांग्रेसका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण १ हजार ४ सयभन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ।
त्यस्तै, बुढीगण्डकीमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्याएको छ।
यस्तो दुःखद परिस्थितिमा चाडपर्वको अवसरमा विगतमा जस्तो औपचारिक तथा भव्य कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने कांग्रेसको निष्कर्ष छ।
कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली नअपनाई शान्त र संयमित रूपमा परिवारमा सीमित भएर पर्व मनाउन आग्रह गरेका छन्।
कांग्रेसले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा बेपत्ता नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनसमेत आग्रह गरेको छ।
नेपाली कांग्रेस

