Logo
७ वैशाख २०८१, शुक्रबार

यस्तो छ नवनिर्वाचित राष्ट्रपति रामचन्द्रको जीवनयात्रा

अक्षरपाटी
२०७९ फागुन २५ , बिहीबार ०८:०३ मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीबार राष्ट्रपतिका लागि भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भए। उनी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भए ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी नाउपा जनमोर्चा, नेसपा र आम जनता पार्टीले पौडेललाई साथ दिए। एमालेका नेम्वाङले भने एमाले बाहेक कसैको साथ पाएन।

पौडेलको जन्म

गणतन्त्र नेपालको चौथो राष्ट्रपतिमा निर्वाचित पौडेलको जन्म आजभन्दा ७८ वर्षअघि गण्डकी अ‍ञ्चलको दक्षिण पूर्वमा रहेको तनहुँ जिल्ला साविकको मिर्लुङ् बाहुनपोखरामा भएको हो।

जो हाल व्यास नगरपालिका ८ बेलथुम्कीमा पर्छ । मध्यमवर्गीय किसान परिवारमा २००१ असोज २९ गते बुबा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोखबाट पौडेलले जन्म लिएका थिए।

पौडेलको स्थायी बसोबास व्यास नपा–८,बेलथुम्की भएपनि हालको बसाई भने काठमाडौँ महानगर १६ बोहोराटार बालाजु हो।

गणतन्त्र नेपालको चौथो नवनिर्वाचित राष्ट्रपतिमा पौडेलको परिवारमा पत्नी सविता पौडेल, छोराछोरीमा चार छोरीहरु शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा र १ छोरा चिन्तन पौडेल छन् ।

शैक्षिकयात्रा

पौडेलले संस्कृत साहित्यमा २०२४ सालमै शास्त्री र नेपाली साहित्यमा २०२७ सालमा स्नातकोत्तर गरेका छन्।

राजनीतिक पाइला

पौडेलले पोखरास्थित विन्ध्यवासीनी पाठशालामा अध्ययन गरे। २०१७ मा नन्दीरात्रि मावि विद्यालयबाट एसएलसी परीक्षा उत्तिर्ण गरे।

नन्दीरात्रि मावि विद्यालयमा विद्यार्थी संघको संस्थापक अध्यक्ष भए । त्यसपछि रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष बने।

२०१७ साल जेठ÷असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएर आए।

२०१७ पुस १ गते जननिर्वाचित संसद भंग गरी प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा होमिए।

जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरे।

२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९÷०२० सालमा उपत्यका आन्दोलनमा गिरफतार परे।

२०२०÷०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफतार भए।

नवनिर्वाचित राष्ट्रपति पौडेल गण्डकी छात्र संघको २०२३ मा संस्थापक अध्यक्ष बन्दै नेतृत्व गरे। त्यसपछि सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित भए।

२०२४ मा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव बने।
२०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक सदस्यमा मुख्य भूमिका निर्वाह गरे भने २०३४ मा नेपाली काँग्रेस तनहुँको सदस्य भए। २०३६ मा पौडेल जिल्ला उपसभापति भए।

२०३७ मा जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक बने। २०४० मा उनी नेपाली काँगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, र २०४३ मा नेपाली काँगेस केन्द्रीय केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगे।

२०६२ – २०६४ सम्म नेपाली काँगेस केन्द्रीय महामन्त्री, २०६४ – २०७२ सम्म नेपाली काँगेस केन्द्रीय उपसभापति हुँदै २०६४ –२०७० मा उनी कांग्रेस संसदीय दलको नेता बने।
२०७२ मा नेपाली काँगेस केन्द्रीय कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाले।

१३ ‍‍‍‍औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेल २०७२ देखि हालसम्म निरन्तर काँग्रेसको वरिष्ठ नेता थिए।

पौडेलको जेल जीवन

भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडांैबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतमा रहे।

२०२१ मा विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बसे।

२०२३ मा डिआईजी काण्डमा गिरप्mतार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग भेट भयो।

जहाँ पौडेललाई प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको थियो।

२०२४ पोखरामा ९ महिना र काठमाडौमा ६ महिना जेलमा राखियो। पौडेलले २०२५-२०२६ मा प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलजीवन बिताए।

२०२७ मा नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडाँैमा ३ महिना हिरासतमा थुनियो।

२०२८ मा रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी बनाइयो।

नेपाली काँग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भन्दै २०३४ मा पुनः गिरफ्तारीमा परे। त्यसबेला पौडेललाई १० महिना हिरासतमा राखियो।

त्यही सम्मलेलनद्वारा नेपाली काँग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनसर््थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो।

जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तार, ६ महिना हिरासत राखियो।

पञ्चायती व्यवस्था अन्र्तगत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली काँग्रसेको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ परे र ६ महिना हिरासतमा रहे।

पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली काँग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार हुँदै उनी ९ महिना हिरासतमा रहे।

२०४२ र २०४६ सालको जनआन्दोलनमा नेपाली काँग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना हिरासतमा रखियो।

२०४५ मा बहुदलीय व्यवस्थाको पुनस्थापनार्थ धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा उनलाई गिरफ्तार गरी बागलुङ् जेलमा ५ महिना राखियो।

२०४६ शाही कदमको विरोध गर्दा उनलाई करिव एक वर्ष नजरबन्द र हिरासतमा राखियो भने २०५९ मा दोस्रो जनआन्दोलन २०६२÷२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखियो।

यीलगायत छाटो समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा पौडेलले लामो जीवन बिताए ।

योगदान र उपलब्धि

– तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०४८
– तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५१
– तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५६
– तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०६४
– तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०७०
– तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९
– पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त २०४८ जेठ १५ देखि २०५१
– कृषि मन्त्री नियुक्त २०४९ साउन देखि २०५१
– प्रतिनिधिसभाको सभामुख निर्वाचित २०५१ पुस २ गते ।
– उपप्रधान तथा सूचना÷सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६
– उपप्रधान तथा गृहमन्त्री २०५६÷२०५८
– शान्ति समितिको संयोजक (२०६१÷२०६२)
– शान्ति तथा पुनःनिर्माण मन्त्री २०६३÷२०६४
– नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता २०६४÷२०७०

पुरस्कार-सम्मान

मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार
महेन्द्र विक्रम शाह पुरस्कार (महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र काँग्रेसका संस्थापक हुन्)
जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान (२०२० सन्)

प्रकाशित कृर्ति

– नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास
– प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७
– नेपाली काँग्रेस र नेपालको आधुनिकीकरण
– नेपाली काँग्रेस के भन्छ ?
– आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५
– नेपाली काँग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५
– कृषि क्रान्ति र समाजवाद
– राजनीतिको राजमार्ग, २०७९
– नेपाली काँग्रेस रूपान्तरणको मार्गचित्र
– नयाँ सन्दर्भमा समाजवाद
– अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)
लगायत दर्जनौं पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्तिाहिक, मासिक, तथा अनलाईनहरूमा समसाययिक लेखरचना प्रकाशित
– जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन ।

देशाटन

नेपालका सबै जिल्ला, भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत भ्रमण।

स्मरणीय क्षण

२०२५ सालमा बीपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल गइ अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिए। त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट भयो। त्यस बखतमा बीपीले पौडेलसँगै जेलमा रहेका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेका थिए।

विशेष पहिचान

– समाजवादी चिन्तक र प्रयोगकर्ता । स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता ।
– नेपाली काँग सभित्र समन्वयकारी, मध्यमार्गी नेताका रुपमा परिचित। तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सँधै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह ।
– द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह । विस्तृत शान्ति सम्झौताका मस्यौदाकार । सहमति र सहकार्यका पक्षपाती।
– राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्ष भन्दा बढी जेल जीवन ।

अन्य

‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सुत्राधार ।

रामचन्द्र पौडेल राष्ट्रपति