


o रोहित गिरी
कैलाली । अहिलेको समय सामाजिक सञ्जालको समय हो। कुनै ठाउँको एउटा फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट हुनासाथ केही घण्टामै हजारौँ मानिससम्म पुग्छ। यही माध्यम अहिले ओझेलमा रहेका प्राकृतिक तथा पर्यटकीय गन्तव्यलाई चिनाउने सबैभन्दा प्रभावकारी माध्यममध्ये एक बनेको छ। एउटा आकर्षक दृश्यले नयाँ गन्तव्यको चर्चा बढाउँछ, पर्यटक तान्छ र स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढाउँछ।
तर सामाजिक सञ्जालमा भाइरल हुने हरेक गन्तव्य सुरक्षित हुन्छ भन्ने छैन। झन् जोखिमयुक्त स्थानको सुन्दर दृश्य मात्र भाइरल हुँदा त्यसको अर्को पाटो ओझेलमा पर्न सक्छ—त्यो हो, सुरक्षा।
कैलालीको चुरे गाउँपालिका–५, डाँडाखर्क नजिकैको झरना अहिले यही प्रश्नको गम्भीर उदाहरण बनेको छ।
शनिबार झरना हेर्न साथीहरूसँग पुगेका डडेल्धुराका २१ वर्षीय खगिराज पन्त फोटो खिच्ने क्रममा चिप्लिएर भिरबाट खस्दा बेपत्ता भएका छन भने अहिलेपनि उनको खोजिकार्य जारी छ । रमणीय झरनाको दृश्य क्यामेरामा कैद गर्ने क्रममा एक युवाको जीवन नै समाप्त भयो।
यो घटनाले त्यहाँको जोखिम फेरि सतहमा ल्याएको छ। किनकि केही समयअघि पनि यही क्षेत्रमा स्थानीय एक युवाले चिप्लिएर ज्यान गुमाइसकेको बताइएको छ।
यति हुँदाहुँदै पनि पछिल्लो समय सामाजिक सञ्जालमा उक्त झरनाका फोटो तथा भिडियोहरू व्यापक रूपमा भाइरल बन्न थालेपछि त्यहाँ पुग्ने मानिसको संख्या भने झन् बढिरहेको छ। शनिबार पनि झरना क्षेत्रमा बाक्लो भीड देखिएको थियो। अर्थात्, गन्तव्यको प्रचार बढिरहेको छ, तर त्यसअनुसार सुरक्षा व्यवस्थापन भने देखिँदैन।
हामीले पर्यटकीय गन्तव्यको सुन्दरता मात्रै बेचिरहेका छौँ कि त्यहाँको जोखिम पनि बताइरहेका छौँ?
सुन्दर दृश्य हेर्नु, फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु स्वाभाविक हो। तर फोटोमा देखिने सुन्दरता र वास्तविक ठाउँको जोखिम फरक हुन सक्छ। सामाजिक सञ्जालमा देखिने एउटा आकर्षक तस्बिरले मानिसलाई त्यहाँसम्म पुर्याउँछ, तर तस्बिरले चिप्लो चट्टान, गहिरो भिर, तीव्र पानीको बहाव, जोखिमपूर्ण बाटो र दुर्घटना भए उद्धारमा हुने कठिनाइ देखाउँदैन।
त्यसैले कुनै गन्तव्य भाइरल हुँदा त्यसको प्रचारसँगै जोखिमको सूचना पनि भाइरल हुन आवश्यक छ।
पर्यटक बढ्नु आफैँमा समस्या होइन। समस्या त त्यतिबेला हुन्छ, जब पर्यटकको संख्या बढ्छ तर सुरक्षा व्यवस्था उही अवस्थामा रहन्छ। मानिसहरू बढिरहेका छन्, तर जोखिम क्षेत्र पहिचान गरिएको छैन। चेतावनी बोर्ड पर्याप्त छैनन्। सुरक्षित रूपमा आवतजावत गर्ने संरचना छैन। दुर्घटना भए तत्काल उद्धार गर्न सकिने पूर्वतयारी छैन। यस्तो अवस्थामा पर्यटकीय गन्तव्यको अनियन्त्रित प्रचार आफैँमा जोखिमको कारण बन्न सक्छ।
अब सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बेला आएको छ।
प्रहरी प्रशासन, स्थानीय तह, पर्यटनसँग सम्बन्धित निकाय र स्थानीय समुदायले संयुक्त रूपमा उक्त क्षेत्रको जोखिम मूल्यांकन गर्नुपर्छ। जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड राख्ने, घेरबार गर्ने, सुरक्षित बाटो निर्माण गर्ने, सम्भावित दुर्घटनाका लागि उद्धारको पूर्वतयारी गर्ने तथा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था तत्काल आवश्यक छ।
त्यसभन्दा पनि महत्वपूर्ण कुरा, जोखिम न्यूनीकरणको ठोस व्यवस्था नहुँदासम्म अत्यधिक जोखिमयुक्त क्षेत्रमा सर्वसाधारणको प्रवेश रोक्ने वा निश्चित सीमासम्म मात्र अनुमति दिने विषयमा समेत सम्बन्धित निकायले निर्णय गर्नुपर्छ।
किनकि दुर्घटना भएपछि उद्धार र राहतमा सक्रिय हुनु मात्रै पर्याप्त हुँदैन। दुर्घटना हुन नदिन गरिएको पूर्वतयारी नै वास्तविक सुरक्षा हो।
यहाँ सामाजिक सञ्जाल प्रयोगकर्ताको भूमिकासमेत महत्वपूर्ण छ। कुनै ठाउँको फोटो वा भिडियो पोस्ट गर्दा ‘कति सुन्दर ठाउँ’ भनेर मात्रै प्रचार गर्ने होइन, ‘कति सुरक्षित छ?’ भन्ने प्रश्न पनि उठाउनुपर्छ। जोखिमयुक्त स्थान हो भने त्यसको सूचना स्पष्ट रूपमा दिनुपर्छ। एउटा जिम्मेवार पोस्टले हजारौँ मानिसलाई सावधान बनाउन सक्छ भने एउटा गैरजिम्मेवार प्रचारले त्यति नै मानिसलाई जोखिममा पुर्याउन सक्छ।
स्थानीय तह र सम्बन्धित निकायले पनि सामाजिक सञ्जालमा गन्तव्य भाइरल भएपछि मात्रै जाग्ने होइन, भाइरल हुनुअघि नै सुरक्षा व्यवस्थापन गर्नुपर्छ। किनकि आज एउटा झरना भाइरल भएको छ, भोलि अर्को पहाड, अर्को नदी वा अर्को भिर भाइरल हुन सक्छ। प्रत्येक ठाउँमा दुर्घटना भएपछि मात्रै चेत्ने हो भने मानवीय क्षतिको शृंखला रोकिँदैन।
पर्यटन चाहिन्छ। नयाँ गन्तव्यको प्रचार चाहिन्छ। यो सबै आवश्यक छ। तर मानिसको ज्यानको मूल्यमा पर्यटनको विकास स्वीकार्य हुन सक्दैन।
खानिडाँडा झरना मृत्युको जोखिम

