Logo
१४ वैशाख २०८१, शुक्रबार

धनगढीको ६ लेन सडक, पाँचौपटक म्याद थप्दा पनि अधुरै

अक्षरपाटी
२०७९ चैत्र २ , बिहीबार ०३:०३ मा प्रकाशित

धनगढी २ चैत। केही दिनअघि धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा धनगढी अत्तरिया ६ लेन सडकमा स्मार्ट सडकबत्ती बालियो। बत्तीको झिलिमिलीको प्रचार र प्रसंसा निकै भयो।

तर दुई वर्षमै सक्नुपर्ने व्यापारिक महत्वको यो सडक ६ वर्ष भइसक्दा पनि अधुरै भएको विषय भने ओझेलमा पर्दै आएको छ। त्यो मात्र होइन सडक निर्माण नसकिँदै आयोजना कार्यालय भने पाँच महिनाअघि नै हटाइसकिएको छ।

अहिले पनि फुटपाथ, रेलिङ्ग, ट्राफिक संकेतका कामहरु पूरा नहुँदा स्थानीयले सास्ती मात्रै भोगेका छैनन्। जथाभावी सडक वारपार गरेको विषय चर्चा आलोचित मात्र हुने गरेको छैन, त्यसरी सडक पार गर्ने नागरिकलाई धनगढी उपमहानगरका मेयर गोपाल हमालले दोसल्ला ओढाएर सम्मान गरे। जसलाई ‘सम्मानका नाममा नागरिकको अपमान’ भनेर पनि आलोचना भयो।

भारतीय गौरीफण्टा नाकादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने धनगढी मोहना पुल–अत्तरिया छ लेन सडकको काम पाँचाँै पटक थपिएको अवधि सकिँदा पनि अधुरै छ।

दुई वर्षमा सक्नुपने यो सडक आयोजना निर्माण सम्झौता भएको छ वर्ष पुग्नै लाग्दासमेत पूरा हुन नसकेको हो। सडक कालोपत्रेको काम सकिए पनि रेलिङ्ग, फुटपाथ, रङरोगनलगायतका कामहरु लामो समयदेखि अलपत्र छन्।

१४.२ किलोमिटर लामो सडकलाई तीन वटा खण्डमा छुट्याएर दुई वर्षभित्र पूरा गर्ने शर्तमा जेठ २०७४ मा अलगअलग सम्झौता गरिएको थियो। निर्माण कम्पनीले काममा देखाएको चरम लापरबाही गर्दा पाँच पटक म्याद थप भइसकेको छ। पछिल्लो पटक थपिएको म्याद पनि गत असोजमा सकिएको छ।

तर सडक छेउतिर रेलिङ्ग राख्ने, फुटपाथ बनाउने, ट्राफिक संकेतहरु राख्ने, रङरोगन गर्नेलगायतका काम अधुरै छन्। आयोजना हेर्दै आएका सव इन्जिनियर भुवन खड्काले पाँचौँ पटक थपिएको अवधि गत असोजमा सकिए पनि सबै काम पूरा नभएको बताए।

बाटो काट्ने ठाउँमा जेब्रा क्रसिङलगायत ट्राफिक संकेतहरु राख्ने, किलोमिटरको पोस्ट बनाउने, रङरोगन गर्नेलगायत काम अधुरै रहेको उनले बताए। केही ठाउँमा सडकमा छेउतिर रेलिङ राख्न बाँकी छ। केही ठाउँमा फुटपाथमा ब्लक बिछ्याउने काम अधुरै छ।

‘तीन वटा प्याकेजको छुट्टाछुट्टै ठेक्का हो तर कुनै पनि प्याकेजमा काम पूर्णरुपमा सम्पन्न भएको छैन,’ खड्काले भने, ‘केही समययता काम पूर्णरुपमा बन्द छ।’

डेढ मिटर फुटपाथ र तीनदेखि साढे चार मिटरसम्म सर्भिस लेन बनाउनुपर्ने स्टीमेट छ । तर कतिपय ठाउँमा सर्भिस लेन राम्रोसँग ग्राभेल गरिएको छैन। आयोजना पूरा नहुँदै केही ठाउँमा कामको गुणस्तरमाथि प्रश्न उठेको छ।

रेलिङ्ग राखेको कतिपय ठाउँमा रेलिङ्ग र पोलहरु भाँचिएका छन्। तीं कमसल भएको भन्दै आलोचना हुन थालेको छ। फुटपाथमा बिछ्याइएका ब्लकहरु भाँसिएका छन् भने केही ठाउँमा सडक चर्किएको छ। एकातिर सडक निर्माणमा चरम लापरबाही भइरहेको र अर्कोतिर कामको गुणस्तरमाथि प्रश्न उठेको स्थानीयले बताए।

मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर लामो पहिलो खण्ड शर्मा–अमर–नागार्जुन जेभीले काम गरिरहेको छ। बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर दोस्रो खण्डमा लुम्बीनी–राजेन्द्र–डाँफे तथा गेटादेखि–अत्तरियासम्म तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले ठेक्का लिएको छ। करिब एक अर्ब ६५ करोडको लागतको यो आयोजनाको बाँकी काम लामो समयदेखि ठप्प छ।

काम अधुरै, ट्राफिक व्यवस्थापनमा समस्या
फुटपाथ, रेलिङ्ग, ट्राफिक संकेतका कामहरु पूरा नहुँदा छ लेनमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। पैदलयात्री र सवारी साधनले जथाभावी बाटो काट्ने तथा सवारी चलाउनाले सडक अस्तव्यस्त छ भने दुर्घटना बढेका छन्।

जथाभावी बाटो काट्नाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनुका साथै दुर्घटना बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले सडकको मिडियनमा तारजाली लगाइरहेको छ। हस्तान्तरण हुनुअघि सबै काम पूरा हुने आयोजना कार्यालयको दाबी छ।

काम अधुरै, हटाइयो कार्यालय
६ लेन सडकको काम पूरा नहुँदै आयोजना कार्यालय भने करिब पाँच महिनाअघि हटाइएको छ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत धनगढीमा रहेको मोहना पुल–अत्तरिया सडक आयोजना कार्यालयलाई गत असोजमा कञ्चनपुरस्थित महाकाली पुल आयोजना कार्यालयमा गाँभिएको छ। छ लेनको बाँकी काम महाकाली पुल आयोजनाले हेरिरहेको छ ।

पुल पनि सुस्त
६ लेन सडकमा पर्ने तीन वटा पुल निर्माणको काम पनि सुस्त गतिमा छन्। गौरीफण्टा नाका जोड्ने मोहना नदी तथा गेटाको मनहरा र सुनिखोलामा पुल निर्माणको काम भइरहेको हो।

तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको सुनिखोला पुल गत असोजमै सम्पन्न हुनुपर्ने हो। तर अहिलेसम्म ४९ प्रतिशतमात्र काम भएको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ। यो पुलको ठेक्काको म्याद थप्ने प्रकृया अगाडि बढेको छ।

राजनीतिक पहुँचका आधारमा ठेकेदारहरुले म्याद मात्रै थप्ने काम नगर्ने गरेको गुनासो स्थानीयको छ।

मनहरा खोलामा करिब सात करोडको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति १५ प्रतिशतमात्र छ। निर्माण अवधि १५ महिना बाँकी रहे पनि हालसम्मको प्रगति निराशाजनक रहेको सव इन्जिनियर खड्काले बताए। उच्चाकोटी–समिदेव–राजेन्द्र जेभीले पुल निर्माण गरिरहेको छ।

२७ महिनामा सक्ने गरी माघ २०७८ मा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको मोहना पुलको भौतिक प्रगति हालसम्म १५ प्रतिशतमात्र भएको खड्काले जानकारी दिए।

उनका अनुसार १२ करोड १३ लाखमा यो पुल निर्माणको ठेक्का भएको हो। तीनै ठाउँमा साविकको पुलको दुवैतिर नयाँ पुल बनाएर छ लेन बनाउन लागिएको हो।

 

धनगढी धनगढी उपमहानगर