Logo
१६ जेठ २०८०, मंगलबार

कुटिएको भन्दै तारा बरालको ‘हेलमेट पत्रकार सम्मेलन’

अक्षरपाटी
२०७९ चैत्र ११ , शनिबार ०२:०३ मा प्रकाशित

काठमाडौं, ११ चैत्र । सामाजिक अभियन्ता तारा बरालले आफू कुटिएको भन्दै ‘हेलमेट पत्रकार सम्मेलन’ गरेकी छन्।

वैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायका लागि आफूहरु वैदेशिक रोजगार विभाग जाँदा कुटाई खानुपरेको उनको भनाइ छ।

पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले दाबी गरिन्। विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ।
मेन पावरबाट सुरक्षित बनौं भन्ने सन्देश दिनका लागि आफूहरुले आज हेलमेट कार्यक्रम गरेको उनले बताइन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियान्ता बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भएपनि पीडितको गुनासो कसैले पनि नसुनेको जिकिर गरिन्।

‘वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरु छन् । तर, पीडितहरुको सुनुवाई गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यतिधेरै निकाय हुँदा पनि किन यतिधेरै पीडित छन् ?’–उनले प्रश्न गरिन ।

वैदेशिक रोजगार विभागमा पत्रकारहरुको क्यामेरासमेत लुटपाट भएको उनले बताइन्। भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ। तर कुन पत्रकारको क्यामेरा खोसियो भन्नेबारे उनले खुलाइनन्।

वैदेशिक रोजगारका कर्मचारीहरु मेनपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ।
वैदेशिक रोजगारलाई नियमन गर्ने निकायहरु वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतमा पीडितका गुनासो सुन्ने भन्दा पनि पीडितलाई थर्काउने र तर्साउने काम भइरहेको बरालको आरोप छ।

‘पीडितहरुको पीडा मैले सुन्न नसकेको हो । त्यहाँ उजुर हालेको एक महिनासम्म पनि उनीहरुले खोजी गर्दैनन् । त्यो भएपछि पीडित हामीसँग आउँछ। म केही होइन। म यो खोजी गर्ने कोही पनि होइन। नेपाली जनतामात्रै हो। जनताको अधिकार छैन र पीडितको पीडा खोज्न?’ उनले प्रश्न गरिन् ।

कसैको काम गरिदिएको वापत अहिलेसम्म कसैको एक रुपैयाँ पनि नलिएको उनले दाबी गरिन्। कसैसँग पैसा लिएको प्रमाण भए सार्वजनिक गरिदिन पनि उनले चुनौति दिइन्।

बाबा मेनपावरका प्रज्ञान न्यौपानेले तारा बरालले पैसा खाएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाइन् ।

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले युवाहरु घरजग्गा बन्धकी राखेर सपना बोकी वैदेशिक रोजगारमा गएपनि सरोकारवाला निकायले प्रवाभकारी समन्वय नगर्दा अहिले जटिल समस्या आइरहेको बताए।

साथै, वैदेशिक रोजगारमा जानेहरुले पनि आफू जाने देश, काम, पाउने सुविधा लगायतका कुरा राम्रोसँग बुझेर जानुपर्ने उनले बताए।