Logo
६ वैशाख २०८१, बिहीबार

के हो, हिस्टेरिया र मासहिस्टेरिया

अक्षरपाटी
२०७९ चैत्र २१ , मंगलबार ०१:०४ मा प्रकाशित

० ओम बानियाँ

हिस्टोरिया ग्रीक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो। आजभन्दा दुई हजार वर्ष अगाडि हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामाकरण गरे।

बर्सौँसम्म यो समस्यालाई यसै प्रकारले हेरियो। तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको र यो समस्या तनावसँग सम्बन्धित भएको देखायो ।

तनाव नभई हिस्टेरिया हुँदैन, तनावको प्रकार चाहिँ जस्तो पनि हुन सक्दछ । जस्तैः पढाइलेखाइको तनाव, पारीवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहुँदाको तनाव, इज्जतप्रतिष्ठाको तनाव आदि।

यौनसम्बन्धी समस्याहरुले पनि तनाव उत्पन्न गर्न सक्दछ। नेपाल जस्तो संर्किण समाजमा यौनसम्बन्धी समस्याहरुको तनाव निकै हुनेगर्छ।

अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) हुने हुनाले आजकाल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ।

अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै वास्तवमा हिस्टेरिया हो। वास्तवमा हिस्टेरिया अवचेतन मनको खेल हो, जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ। कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो।

हिस्टेरियाका लक्षण

हिस्टेरियामा विभिन्न लक्षणहरु देखा पर्न सक्छन् । जस्तैः बेहोश हुने । अदृश्य शक्तिले छोप्ने। हात खुट्टा झम्झमाउने र लाटो हुने । घाँटीमा डल्लो अड्केको महसुस हुने। वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने। छिटोछिटो सास चल्ने । हात र खुट्टा नचल्ने। आवाज बन्द हुने।

आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने। सम्झना शक्ति हराउने आदि।

कतिपय बिरामीले आफूलाई देविदेउताको रुप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ।

हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ। त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन्।

हिस्टेरियाको कारण

जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ।

सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ। तर यो बुझाइ गलत हो। त्यो किनभने हिस्टरिया अनेक कारणहरुको उपज हो।

कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणहरुले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ।

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन्। मनोचिकित्सकहरुले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन्।

यस क्रममा मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञहरुले विभिन्न प्राविधिक उपायहरु पनि अवलम्बन गरेको देखिन्छ। यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरुले हुन सक्छ।

महिलालाई किन बढी ?

महिलाले पुरुष जसरी आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ। यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ।

यो समस्या किशोरीमा किशोरमा भन्दा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो।

महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन्। पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्याहरुलाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ।

हिस्टेरिया र अन्य मनोरोग

हिस्टेरियाको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ। केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुनसक्छ। केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुनसक्ने सम्भावना बढाइदिन्छन्।

हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हनसक्छ । यस्तो व्यक्ति आफूले तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायता विना ठीक हुन मुस्किल नै हुन्छ।

यदि हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरु (डिप्रेसन, आत्तिने रोग इत्यादि) उत्पन्न हुन सक्दछन्।

हिस्टेरियाको अर्को रुप

नेपालको ग्रामीण एक विद्यालयका केही छात्रा एक्कासी हल्लिने, चिच्च्याउने, काम्ने, उफ्रने, चिर्थोने, मनपरी बोल्ने, कोकोहोलो मचाउने तथा बिहोश हुन थालेपछि विद्यालय नै बन्द गर्नु पर्ने स्थिति सृजना भयो।

उक्त विद्यालयकी शिक्षिका अनुसार कक्षा दसमा अध्ययनरत छात्रालाई बिहान दोस्रो घण्टीमा अचानक यस्तो लक्षण देखिएपछि क्रमशः नौ जना छात्राहरूमा सो लक्षण देखिएको थियो। दिदीलाई के भयो भनेर आत्तिदै हेर्न आएकी अर्की छात्रामा पनि एकाएक यो लक्षण देखिएपछि विद्यालयमा एक प्रकारको तमासा नै भएको थियो।

यही कारण गर्दा उक्त विद्यालय २ दिनका लागि बन्द गरियो । शिक्षिकाका अनुसार आफ्ना छोरीहरुमा यस्ता लक्षणहरु देखिएपछि सृष्टका बाआमा झारफुकतिर लागे।

ठाउँ, ठाउँमा जति झारफुक गरे पनि बेला बेलामा उनीहरुमा यस्ता लक्षणहरु भने देखिइरहेका हुन्छन्। गाउँका बुढापाका तथा जान्नेसुन्नेले यो रोग विवाहपछि ठीक हुन्छ भन्ने सुझाव दिने गरेका छन्।

सर्वसाधारणका लागि ज्यादै रहस्यमय लाग्ने यस्ता घटनाहरू केही वर्ष यता नेपालमा मात्र होइन, भारत, पाकिस्तान, बंगलादेश तथा अफ्रिकाका द्वन्द्व प्रभावित देशहरू पनि घटिरहेका छन्।

तर यस्ता घटनाहरूलाई कतै यौनसँग सम्बन्धित ठानिएको छ कतै धर्मसँग जोडेर देवी–देवताको हुइयाँ फैलाउने काम भैरहेका छन्। यथार्थ भने अर्कै छ, कुनै प्रभु वा देवी–देवता उत्रिएका कारण यस्तो भएको होइन, यो त अत्याधिक चाप, तनाव, डर–त्रास, पीडा, बैचनी, उपेक्षाका कारण हुने गरेको छ। यो कमजोर मनले पैदा भएको एक मनोजनित रोग हो, एपिडेमिक हिस्टेरिया हो । यो रोग एकै पटकमा धेरै जनालाई एकैसाथ हुने हुँदा यसलाई मास हिस्टेरिया भनिएको हो।

मास हिस्टेरिया के हो ?

हिस्टेरियाको लक्षण कुनै समुदाय, परिवार, गाउँ, स्कुल, कलेज तथा अन्य ठाउँहरुमा एकै पटक धेरै जनामा देखिन्छ भने त्यो मास हिस्टेरिया हो। केलाउँदै जाने हो भने सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया हुने प्रथम व्यक्ति हुन्छ ।

उसलाई हिस्टेरिया भएपछि अन्यमा पनि हिस्टेरिया हुन थालेको भेटिन्छ। यसरी पछि हिस्टेरिया हुनेहरू या त प्रथम व्यक्तिसँग भावनात्मक सम्बन्ध भएकाहरू हुन्छन् या उनीहरू त्रासको कारणले सो अवस्थामा पुगेका हुन्छन्।

विद्यालय तथा छात्रावास जस्ता समूहगत रूपमा किशोर किशोरीहरू रहने स्थानहरूमा बेलाबेलामा मास हिस्टेरिया भेटिन्छ।

मानिस वा मानिसको समूहलाई कुनै कुराप्रति अत्याधिक डर वा अति तनाव वा रीस भयो र त्यसलाई थेग्ने मानसिक क्षमता भएन भने एकाएक यो मास हिस्टेरियाका लक्षण देखिन थाल्छन्, मानिसहरू एकासाथ हल्लिने, चिच्च्याउने, कराउने, हातखुट्टा फाल्ने, मनपरी बोल्ने, ज्यादै उत्तेजित हुने तथा बिहोश हुने गर्दछन्।

मास हिस्टेरिया पैदा हुने प्रमख कारण अत्याधिक डर, क्रोध, तनाव, उपेक्षा तथा अति यौन उत्तेजना पनि हो।

मनोवैज्ञानिक भाषामा भन्ने हो भने यो अवचेतन मनको नाटक हो, तर यो नाटक मानिसको नियन्त्रणमा हुँदैन। तर कतिपयले भने आफ्नो श्वार्थपूर्तिका लागि देखावटी पनि गर्ने गर्दछन् र देवता वा कुल उत्रिएको देखाउन जानीजानी हिस्टेरियाको नक्कल गर्न थाल्छन्।

यो रोग प्रायः महिलालाई हुने भएता पनि पुरूषहरूलाई पनि यो रोग लाग्ने गर्दछ। तर १२ देखि ३५ वर्षका महिला नै बढी मात्रामा यो रोगको शिकार हुने गर्दछन्।

समाजजनिक रोग

नेपालमा मास हिस्टेरिया बेलाबखत विभिन्न जिल्लाहरुमा, विशेष गरेर स्कुलहरुमा देखा परिरहने गर्छ। दक्षिण एसियाका धेरै देशहरुमा यो समस्या बेलाबेलामा देखिन्छ।

नेपालको परिप्रेक्षमा हेर्ने हो भने विगतमा धेरै संख्या यो रोगबाट आक्रान्त भएका देखिएको छ। विशेषगरी मास हिस्टेरिया एक किसिमको कृत्रिम त्रास जनमानसमा उब्जिएपछि हुने गर्छ।

यस किसिमको त्रास धार्मिक, राजनीतिक, स्वास्थ्यसम्बन्धी अथवा कुनै पनि हुन सक्छ। यो त्रास र भयको सिकार एक जनालाई भएपछि लगातार थुप्रै व्यक्तिहरुलाई हुन सक्छ।

एउटा कुनै सानो घटना बढाईचढाई गरेर जनमानसमा पुगेपछि पहिलेदेखि नै निरीह बनेको समुदायमा यसको असर बढी देखिन सक्दछ। त्यसैले मास हिस्टेरियालाई समाजजनिक रोग (मास सोसियोजेनिक इलनेस) पनि भन्न सकिन्छ।

यस किसिमको रोगको स्रोत पनि समाज, सामाजिक र राजनीतिक कार्यकर्ता, उच्च अधिकारी, धार्मिक नेता र सञ्चार माध्यमहरु हुन सक्छन् । यस समस्यालाई बढाउन वा समस्या समयमै निराकरण गर्न जनसमुदायको अत्यन्त ठूलो भूमिका हुन्छ।

समाजको दायित्व

कुनै व्यक्तिलाई हिस्टेरियाको लक्षण देखा पर्यो र अरुलाई पनि त्यस्तै किसिमका लक्षणहरु देखा परेमा सर्वप्रथम त त्यस संस्था अथवा ठाउँको प्रमुख व्यक्तिले धैर्यतापूर्वक महत्वपूर्ण भूमिका निभाउनुपर्छ।

जस्तो कि विद्यालयमा यस किसिमको समस्या देखिने बित्तिकै प्रिन्सिपलले अत्यन्त संयमित भई पटक पटक यसबारेमा तथ्य सूचना प्रवाह गरिरहनुपर्छ। विद्यालय प्रशासनको गलत सूचनाले समस्या जटिल भई समाधानमा विभिन्न व्यवधान आउन सक्छ।

यो रोग वा अन्य के कारणले बेहोस भयो भनी पत्ता लगाउन स्वास्थ्यकर्मीको सहायता लिनुपर्छ। मानसिक स्वास्थ्यमा तालिमप्राप्त स्वास्थ्यकर्मीले समेत हिस्टेरिया भए नभएको पत्ता लगाउन सहयोग गर्न सक्दछन।

हस्टेरियाको कारणले गर्दा कोही बेहोस भएमा वा काम्दै चिच्याउँदै गरेको खण्डमा आत्तिनु हुँदैन । त्यस्तो अवस्थामा जवर्जस्ती बिरामीको मुख खोल्ने, मुखमा केही राखिदिने, हातखुट्ट चलाइ दिने गर्नु हुँदैन। बिरामीलाई सुरक्षित ठाउँमा राखेर आराम गर्न दिनुपर्छ। केही बेरपछि उ विस्तारै होस आउँछ।

यस रोगको स्थायी समाधानका लागि विशेषज्ञको सल्लाह र सहमतिमा उपचार सुरु गर्नुपर्छ । उपचारका क्रममा बिरामी मात्र नभएर उनीहरुका सहपाठीहरु तथा शिक्षक, अभिभावक, समुदायको पनि उपचारमा ठूलो योगदान हुन्छ।

कुनै त्रास, भय, हल्ला अथवा कुनै त्यस्तै कुराहरुले समस्या गरिरहेको छ भने सर्वप्रथम त्यस्ता कुराहरुलाई निषेध गर्नपट्टि ध्यान दिनुपर्छ। यो समस्या दोहोरिन नदिन र कतै देखिइहाले पनि यसको चाँडै निराकरण गर्नका लागि शिक्षक, विभिन्न समुदायका अगुवाहरु र आमजनताले व्यापक चेतना जगाउनुपर्ने हुन्छ। यस कार्यमा संचार माध्यम र सञ्चारकर्मीहरुको अहम् भूमिका रहने गर्छ।

अन्धविश्वास, कुरीति, चेतनाको कमी नै हाम्रो जस्तो अविकसित देशमा मास हिस्टेरियाको कारण र उपचारमा ढिलाइ हुने मुख्य कारणमध्ये एक हो। देवि देउता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतहरुमाथिको अन्धविश्वासले गर्दा यो रोग लाग्न मात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ।

अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षणहरु देखिएको खण्डमा विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने गलत धारणा कायमै छ। विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुनसक्छ।

तर कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ। कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउँछ।

त्यसैले हामीसबैले बुझ्नु पर्ने कुरा के भने विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठीक हुन्छ । त्यसैले हिस्टेरियाको उपचार आवश्यक छ।

हिस्टेरियाको उपचार

हिस्टेरिया होस् वा मास हिस्टेरिया होस्, यो पूर्णतया मनको खेल हो, अवचेतन मनको खेल हो । अर्को शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरुद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरुप देखिएको मनको रोग हो।

वास्तवमा यो रोग ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो। यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ ।

तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठीक पारोस्। तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन्।

तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ। निदानको लागि तनावको पहिचान आवश्यक छ। तर तनावको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्दछ।

हिस्टेरियाको सर्वोत्तम उपचार माइण्ड–बडी मेडिसिन हो, साइकोथेरापी हो। त्यसैले मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), ईएफटी तथा योग, ध्यान, प्राणायाम जस्ता यौगिक क्रियाहरूद्वारा नै मास हिस्टेरियाको उपचार गर्नु पर्दछ ।

त्यसो त बिरामीको मनको कुरा, उसको अवचेतनमा चलिरहेको द्वन्द्व थाहा गर्न नारकोथैरापी तथा हिप्नोटिज्म जस्ता विधिहरू पनि सहयोगी हुन्छन्।

उपचारले मात्र मास हिस्टेरियाको स्थायी समाधान निस्किँदैन, उपचारको साथसाथै परिवेश नै ठीक राख्नु पर्दछ । जस्तो कि विद्यालयका छात्राहरूमा मास हिस्टेरियाको प्रमुख कारण पढाइको बोझ भएकाले विद्यार्थीको काँधमा भकारी भारी किताब बोकाउन छोडेर पढाइलाई जेल होइन कि खेल बनाउने हो भने मास हिस्टेरिया त्यसै ठीक हुन्छ।

(लेखक मनोविद् हुन्)

ओम बानिया मास स्टेरिया