Logo
८ वैशाख २०८१, शनिबार

केही आस गरिएका रवि र लिङ्देनले पनि उही पोखरीमा हाम फाले : दुर्गा प्रसाईँ

अक्षरपाटी
२०७९ चैत्र १९ , आईतबार १०:०४ मा प्रकाशित

काठमाडौं, १९ चैत्र । नागरिक बचाउ महाअभियान चलाइरहेका दुर्गा प्रसाईँले आसन्न उपनिर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेलाई हराएरै छाड्ने बताएका छन्।

उनले हाम्रो नेपाली पार्टीसँग महाअभियानको सहककार्य सहकार्य गर्ने बताएका छन्। आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका साथ सहभागी हुने जानकारी गराए।

उनीहरुले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारसमेत घोषणा गरेका छ। चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ। उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्ह लौरौ पनि थमाए।

त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी समेत गरे। प्रसाईँले प्रचण्ड र केपी ओलीले नागरिकलाई धेरै ढाँटेको आरोप लगाए। अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको जिकिर थियो।

केही आशा गरिएका लामिछाने र लिङ्देन पनि ‘उही पोखरीमा गएर हाम फालेको’ उनको आरोप छ।
‘प्रचण्डबाट पनि यो कुरा पार नलागिसकेपछि अब नयाँ पार्टी आउँछ भनेर रविजीको पर्खाइमा बसें । राजेन्द्र लिङ्देन दाइको पर्खाइमा बसेको थिएँ। उहाँहरु पनि त्यही पोखरीमा गएर हाम फालेपछि हामीले यो अभियान चलायौं। कालोमोसो दस्ता खोलेको यी भाइ (शम्भु थापा) लाई लगेर थुनिदिए,’– उनले भने।

लघुवित्त, सहकारी र बैंकको कारण आज मान्छेहरु मिटरब्याजमा फसेको उनको आरोप छ। आफूले आवाज उठाएपछि त्यसको पक्षमा गगन थापा, रवि लामिछाने, माधवकुमार नेपाललगायतका मान्छेले आवाज उठाउन थालेको उनको दाबी छ।

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग गरेको सम्झौता नपत्याउन र विश्वास नगर्न पनि उनले आग्रह गरे।
आफूलाई प्रचण्ड र ओलीले आश्वासन दिएर बेवकुफ बनाएकोसमेत उनको आरोप छ।

‘हाम्रा सम्माननीय प्रधानमन्त्रीजी हिजो रुँदै गरेको ठाउँमा पर्खनुस् न पर्खनुस् म छु भन्दै हुनुहुन्थ्यो। तर, विश्वास नगर्नुस्, किन भने मलाई यस्तो बेवकुफ बनाएको छ नी उहाँहरुले, उहाँ र केपी ओलीले,’–उनले भने ।

साथै, राजनीति र व्यापार व्यवसाय आफूसँग सिक्न आउन पनि उनले केपी ओलीलाई आग्रह गरे।

‘केपी ओलीजी ऋण तिर्न सक्नेगरि लिनु नि भन्दै हुनुहुन्थ्यो। उहाँले विजनेस नै गरेको छैन। उहाँलाई राजनीति पनि गर्न आएन, विजनेस पनि गर्न आएन। राजनीति गर्ने हो भने मसँग सिक्न आउन्, देश कसरी चलाउनुपर्छ । व्यापार, व्यवसाय र राजनीति कसरी गर्नुपर्छ भन्ने कुरा मसँग सिक्न आए हुन्छ। हामी राजनीतिको पाठ सिकाउँछौं,’–प्रसाईँले भने।

हाम्रो नेपाली पार्टी (लौरो अभियान) का अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु यो देशलाई बचाउन एकजुट हुनुपर्ने उनले बताए।

रवि लामिछानेले चितवनका सोझा-साझा र इमानदार नागरिकको मत बोरामा ल्याएर ‘तीन जना बा’ को पाउमा लम्पसार परेको उनको आरोप छ।

‘उहाँ (रवि) ले सोझासाझा जनताको मतलाई एउटा बोरामा ल्याउनुभयो । बोरामा ल्याएको मतलाई शेरबहादुर बा, केपी बा र नानीका बा’ को पाउमा लम्पसार परेर उहाँले जनताको मतलाई प्रस्तुत गर्नुभयो,’–उनले भने।

नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टी (लौरो अभियान) बाट चितवन– २ मा साझा उम्मेदवार बनेका शम्भु थापाले रविले दुरुत्साहन मुद्दामा भिडले बचाएपछि अहिले सर्वोच्च अदालतलाई पनि च्यालेन्ज गरेको आरोप लगाए। उनी ‘आई एम रवि’ भन्ने भावनाले प्रस्तुत भएको उनले बताए ।

रवि लामिछाने सांसद भएपछि उनले चितवनको गरिब नागरिकको पक्षमा काम नगरेको उनको आरोप छ । आगामी उपनिर्वाचनमा त्यहाँबाट आफू निर्वाचित हुनेमा कुनै शंका नरहेको उनको दाबी छ।

 

दुर्गा प्रसाईँ