Logo
६ पुस २०८१, शनिबार

अर्थतन्त्रमा तत्काल सकारात्मक सन्देश दिनेगरी काम थालेको छु : अर्थमन्त्री महत

अक्षरपाटी
२०७९ चैत्र २६ , आईतबार ०८:०४ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर तत्काल सकारात्मक सन्देश दिनेगरी काम सुरु गरेको बताएका छन्।

आज आइतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको स्वीकार्दै समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम सुरु गरेको बताए।

उनले लगानीका क्षेत्र, बैंकको ब्याजदर, पुँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान हुने गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको बताए। अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याका कारण राजश्व संकलन न्युन भएको बताउँदै उनले चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था नभएको पनि बताए।

‘मुलुकको राजश्व संकलन भन्सारमा निर्भर छ । यो वर्ष आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य पूरा नहुने देखिएको हो’, उनले भने,‘सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक र बाह्य सहयोग तथा ऋणमा निर्भर हुनुपरेको छ।’

यो उपयुक्त नभएको उनले बताए। साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिलगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाो बताउँदै उनले निराश भइहाल्ने अवस्था नरहेको बताए।

बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारण अर्थतन्त्रमा केही अफ्ठ्याराहरु आएको उनले सुनाए।

‘मुलुकको आर्थिक अवस्था अफ्ठ्यारोमा छ । सरकारले तत्काल सुधार गर्नुपर्ने महशुस गरेको छ’, उनले भने, ‘विश्वको आर्थिक वृद्धिदरको अवस्थालाई ध्यानमा राख्दा धेरै निराशाजनक नभए पनि हाम्रो अपेक्षा भन्दा तल हो।’

डा प्रकाशशरण महत