Logo
१५ वैशाख २०८१, शनिबार

आमालाई पत्र : म कुन समुदायको अंश हुँ

अक्षरपाटी
२०७९ चैत्र २८ , मंगलबार ०७:०४ मा प्रकाशित

एउटी महिलाले जब श्रीमानसँग सम्वन्ध बिच्छेद गरेर जिउन चाहन्छे। उसले के पाउँछे र के के गुमाउछे ? म एउटा समुदाय बिहीन भएको रहेछु।

० अनिता घिमिरे

आमा सादर नमस्कार !
आज लामो समयपछि पत्र लेख्दै छु आमा । वास्तवमा म पहिलोपटक यसरी कागज र कलमको
सहाराले हृदयको भावना हजुरलाई सुनाउँदै छु। किनकि मैले सानो खुसी भेट्टाएकी छु । म यस्तो कुरा हजुरलाई सुनाउँदै छु, जसले हजुरको मप्रति गरेको चिन्ता थोरै भए पनि कम गरोस्।

जसको छोरी काठमाडौँ सहरमा एक्लै छ, एक्लै पनि हैन ऊसँग एउटी ५ वर्षको छोरी पनि छ। उसको श्रीमान अलग छ। उसलाई श्रीमान र उसको परिवारको कुनै सहारा छैन, टेको छैन। यस्तो पनि भन्न सकिन्छ, उसको जिन्दगीमा कुनै पनि लोग्ने मान्छेको आधार छैन। उसको बुबा पनि सहरभन्दा धेर पर हुनुहुन्छ, त्यसमाथि वृद्ध अवस्थामा।

आमा हजुरलाई त्यो दिन याद छ? चार महिना पहिला एकदिन फोनमा कुरा गर्दा म निकै नै झर्किएकी थिएँ। सायद जीवनमा हजुरसँग पहिलोपटक त्यसरी रिसाएकी थिएँ। रिसाएर म १० दिनसम्म बोलिन हजुरसँग।

०००

कुसे औँसीको दिन आमाले मलाई फोन गर्नु भएको थियो। कुरै कुरामा आमाले भन्नु भयो- ‘छोरी तिम्रो सासुको अवस्था निकै नै नराम्रो छ । कुनै पनि समय उहाँले यो संसार छोडेर जान सक्नुहुन्छ। यदी सासुलाई केही भयो भने तिमी सिन्दुर पोते लगाएर घर जानु है।’

मैले सोधेँ ‘किन आमा ?’

आमाः ‘छोरी तिमी मर्दा त क्रिया गर्ने पनि कोही हुँदैन।’

आमाको कुरा सुनेर मैले तोरीको फुल देखेँ मैले हास गुमाएँ । अनि आमालाई उत्तिखेरै जवाफ फर्काएँ।
‘मैले भात खाए कि खाएकी छैन, सञ्चो छ कि बिसन्चो छ? मैले बस्ने घरको भाडा तिरेँकी तिर्न बाँकी छ? हजुरलाई केहिल्यै वास्ता भएन । अब मेरो क्रिया कस्ले गर्ला भनेर चिन्ता गर्ने?’

आमासँग यसको जवाफ थिएन । आमाले फोन राखिदिनुभयो। मलाई धेरै रिस उठिरहेको थियो। मैले अनेक तरिकाले सोच्दा पनि मेरो पूर्व पतिको घरमा पहिलाझैँ बुहारी बनेर जानु उपयुक्त ठानिन्। त्यो समयमा मेरो दिमागमा यति मात्रै आयो कि मेरा आमा बालाई मेरो जीवनको सघर्ष भन्दा पनि म मरेपछि मेरो श्राद्ध कस्ले गर्ला भन्ने धेरै पिरलो रहेछ ।

आफूलाई धेरै अभागी ठानिरहेँ। समय बित्दै थियो। मेरी आमाले भनेको कुराले मलाई गहिरो रुपमा असर गर्न लाग्यो।

एक्लोपनको महसुस त मलाई सँधै हुन्थ्यो । तर पनि अरु कुराहरुलाई हेरर खुसी हुने कोशिस गरिरहन्थे। आफूलाई काममा व्यस्त राख्थँे। जब मेरी आमाले भन्नुभयो ‘तिमी मरेपछि क्रिया गर्ने मान्छे पनि कोही हुँदैन’ । त्यस दिनदेखि मलाई रित्तो भएको महसुस हुन लाग्यो।

एकान्तमा हुने बित्तिकै मैले आफूसँग प्रश्न गर्न थालेँ । एउटी महिलाले जब श्रीमानसँग सम्वन्ध बिच्छेद गरेर जिउन चाहन्छे। उसले के पाउँछे र के के गुमाउछे ? म एउटा समुदाय बिहीन भएको रहेछु।

मेरो विबाह हुनुभन्दा पहिला म मेरो माइती गाउँको समाजको अंस थिए । मानाँै कि मरेको भए सिंगै गाउँका मान्छे मलामी जान्थे र काज किरियामा सहभागी हुन्थे।

विवाह पश्चात मरेको भए पनि मेरो श्रीमान जन्मेको गाउँका मान्छेहरु मेरो मलामी जान्थे होलान र घरका कसैले मेरो लागि एउटा सेतो टालो बाँधेर १२ दिनसम्म नुन नराखेको तरकारी खाने थिए होला। यदि म आज मर्छु भने मेरो लागि को मलामी गइदेला? मेरी आमा सही रहिछिन। मेरो लागि कसले क्रिया गर्ला ?

मेरो मनमा साच्चै ठूलो प्रश्न खडा भयो । मैले अनेक तरिकाले सोच्न थालेँ। हुन पनि एउटा कानुनी
रुपमा श्रीमानसँग अलग भएको आइमाई मान्छे कुन समुदायमा जोडिएको हुन्छ?

मलाई आफ्नै प्रश्नको उत्तर अझै पनि थाहा छैन। तर एउटा कुरा जरुर थाहा छ, त्यो के हो भने एउटी
सम्वन्ध विच्छेद गरेर बसेकी आइमाई मान्छे पहिचान बिहीन हुँदीरहिछ।

मेरी आमाले रोप्नु भएको त्यो सवालले मेरो पुरै शान्ति खलबल्यायो। म रातमा निदाउन नसक्ने भएँ। मलाई पहिलो पटक सम्बन्ध बिच्छेद गरेकोमा पश्चाताप लाग्यो।

मेरी आमाले रोप्नु भएको त्यो सवालले मेरो पुरै शान्ति खलबल्यायो। म रातमा निदाउन नसक्ने भएँ। मलाई पहिलो पटक सम्बन्ध बिच्छेद गरेकोमा पश्चाताप लाग्यो।

यदि मैले तेसो नगरेको भए, मैले जिउन नसकेर आत्महत्या जस्तो अनौठो कदम उठाउँन सक्थे, तर मरेपछि क्रिया गर्ने मान्छे त कोही न कोही पाउँथे। मानौ कसैको छोरा अथवा छोरीले जीवन बुझ्न नसकेर आत्महत्या गरेछ । पछि उसको परिवारले भव्य रुपमा अन्तिम संस्कार गरिदियो । अब त्यो मृत आत्मालाई कस्तो प्रभाब रहन्छ?

समाजमा सबै मान्छेहरु सत्ता, शक्ति र सम्पतिको होडमा दौडिरहेका छन। आजको मितिमा कोहि प्रधानमन्त्री त कोही गृहमन्त्री बनेकोमा गर्भ गरिरहन्छन। त कोही मन्त्री बन्न नपाएकोमा रोइरहेका छन।

यदी गृहमन्त्रीलाई सर्ब शक्तिशाली मान्ने हो भने, उहाँले आफ्नो लागि आवश्यक सबै जरुरत पुरा गर्न सम्भब छ त ? कि उहाँले पनि मरेपछि कसैले सुन दान गरिदिने आसमा जिउनु पर्नेछ?

जसरी एउटा व्यक्तिले जीवित रहुन्जेल आफ्ना हरेक आवश्यकता पुरा गर्ने सामथ्र्य राख्दछ। त्यसरी नै उसले मृत्यु पश्चात आफ्नो आत्मालाई आफूले चाहेको गन्तव्यमा पुर्याउनको लागि जरुरी तयारी गर्न सम्भब छ त? छ भने कसरी?

यस्तै यस्तै प्रश्नहरुले मेरो मन जलिरहेको समयमा मेरो हातमा सद्गुरुको मृत्यु भन्ने पुस्तक आइपुग्यो। जब मैले यो पुस्तक पढ्न सुरु गरे मलाई यो पुस्तक मृत्यु नभएर जीवनको बारेमा लेखिएको एउटा ज्ञानको संग्रह जस्तो अनुभूति भयो।

जुन दिन मैले मुक्ति र महासमाधि भन्ने शिर्षक पढिरहेको थिएँ मलाई धेरै नै आनन्दको अनुभूति भयो । विशेष गरेर जब मैले सद्गुरुका श्रीमती बिजीको महासमाधिको बारेमा जानकारी पाँए ।

त्यस समयमा मेरो आत्माले एउटा नयाँ सत्य पत्ता लगाएको अनुभूति गर्यो। मैले त्यस दिन आफ्नो समस्या समाधान भएको महसुस गरेँ।

कसैले आफ्नो मृत्युको तयारी गर्न चाहन्छ अथवा आफूले चाहेको समयमा, आफूले चाहेको ठाउँमा, आफूले चाहेको जस्तो मनस्थितिमा यो शरीर बदल्न चाहन्छ भने त्यो सकिन्छ। त्यसको लागि आफूलाई मानसिक रुपमा तयार बनाउन सकिन्छ भन्ने ज्ञान भयो।

यदि कसैले आफ्नो मृत्युको तयारी गर्न चाहन्छ अथवा आफूले चाहेको समयमा, आफूले चाहेको ठाउँमा, आफूले चाहेको जस्तो मनस्थितिमा यो शरीर बदल्न चाहन्छ भने त्यो सकिन्छ। त्यसको लागि आफूलाई मानसिक रुपमा तयार बनाउन सकिन्छ भन्ने ज्ञान भयो। अनि त्यसको लागि चाहिने मेहनत गर्न सकिन्छ भने योभन्दा ठूलो आविस्कार अरु के नै हुनसक्छ?

आमा, मैले जे अनुभूति गरेँ, अनि जे लेखिरहेकी छु, त्यो मेरो लागि मात्र जरुरी छैन। हजुरको लागि पनि उत्तिकै जरुरी छ। हुन त हजुरले जिन्दगीभरी पिटाई र अपमान सहेर पनि सम्बन्ध र परिवारलाई बचाएर राख्नु भएको छ। हजुरलाई मेरो सलाम छ । तर यो शरीर छोडेर जाँदैमा सबै कुराको अन्त्य नहुँदो रहेछ।

मृत्युपछि पनि जीवन हुनसक्छ र जीवित रहँदा पनि हरेक दिन मर्नुपरेको हुनसक्छ । आमा, अब त्यो जीवनको बारेमा पछि नै सोचौँला अहिले यही जीवनलाई सुन्दर बनाउनुपर्छ।

छोरी अमृता