Logo
१६ चैत्र २०८०, शुक्रबार

यु–१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोसी प्रदेशको जित

अक्षरपाटी
२०८० वैशाख १३ , बुधबार ०७:०४ मा प्रकाशित

कैलाली । कैलालीको धनगढीमा जारी एनआईबीएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र कोसी प्रदेशले जित हात पारेका छन्।

आज भएका खेलमा जित हात पार्दै लुम्बीनीले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।

पहिलो खेल जितेको सुदूरपश्चिम प्रदेश भने दोस्रो खेलमा लुम्बीनीसँग १५ रनले हारेको हो ।

कोसी प्रदेशले पनि पहिलो जित हात पारेको छ। पहिलो खेलमा कोसी गण्डकी प्रदेशसँग पराजित भएको थियो।

आज भएको पहिलो खेलमा लुम्बीनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हरायो।

फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बीनी प्रदेशले २९ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १४० रन बनायो।

लुम्बीनीका लागि सन्तोष यादवले ४५ रन र आशिष ओलीले २२ रन बनाए। सुदूरपश्चिमका लागि आशिष शाही र अशोक धामीले दुई दुई विकेट लिए।

प्रतिउत्तरमा सुदूरपश्चिम प्रदेशले २८ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो।

सुदूरपश्चिमका लागि नरेन भट्टले ३२ रन, ऋतिक थापाले २५ रन र मेट्रिक थापाले अविजित २२ रन बनाए।

लुम्बीनीका लागि आशिष ओलीले ४ विकेट लिए। सागर गैरे, कमरान अहमाद र सन्तोष यादवले एक एक विकेट लिए। खेलमा चार विकेट लिएका लुम्बीनीका आशिष ओली प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे।

आजकै दोस्रो खेलमा कोसी प्रदेशले बागमति प्रदेशलाई १६ रनले किनारा लगायो।

कोसी प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्दै २८ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १५१ रन बनायो।

कोसीका लागि दिपु भुजेलले ३७ रन, अलिश मण्डलले २६ रन र आशिक मगरले अविजित २२ रन बनाए । बागमति प्रदेशका लागि सुविन हाडाले ४ विकेट लिए। त्यस्तै अर्थव पौडेल र सार्थक धितालले दुई दुई विकेट लिए।

प्रतिउत्तरमा बागमतिले २८ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो।

बागमतिका लागि रोशन विकले २१ रन र सुयांशु कोईरालाले २० रन बनाए । कोसीका लागि कृतिक कामतले ४ विकेट लिए । प्रतिश पौडेल र आशिक मगरले दुई दुई विकेट लिए।

४ विकेट लिएका कोसीकाकृतिक कामत प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार पाए ।

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा लुम्बीनी प्रदेश र कर्णाली प्रदेश तथा तथा दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन्।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।