Logo
१२ वैशाख २०८१, बुधबार

रास्वपाका दुई सांसदले लिए शपथ, रविले भनेः सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ

अक्षरपाटी
२०८० वैशाख १५ , शुक्रबार ०२:०४ मा प्रकाशित

काठमाडौं। बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन्।

लामिछाने चितवन २ बाट र स्वर्णिव तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए।

अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे। यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित भएको बताइएको छ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै सांसदको लोगो वितरण गरेका थिए।

शपथ ग्रहणपछि रास्वपाका सभापति समेत रहेका रवि लामिछानेले पार्टीले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार हुने बताए।

उनले संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर यलाई गम्भिर समिक्षा गर्ने पत्रकारलाई प्रतिक्रिया दिए।

‘कयौं आपत्तिजनक परिस्थितिहरू सिर्जना भएको छ । त्यसलाई हामी छलफल गरेर निष्कर्षमा पुग्छौं’, उनले भने।

उनले आफूहरुले आम नागरिकसँग भोट मागिरहँदा आफूहरुको महत्वपूर्ण एजेण्डा मुलुको भ्रष्टाचारको अन्त्य भएकाले सरकारको न्यूनतम साझा कार्यक्रमबाट त्यो हटाएकाले गम्भीरभ ध्यानाकर्षण भएको समेत बताए।