Logo
१४ वैशाख २०८१, शुक्रबार

देशभर मनाइयो शान्तिका दूत बुद्धको जन्मजयन्ती

अक्षरपाटी
२०८० वैशाख २२ , शुक्रबार ०८:०५ मा प्रकाशित

o रोहित गिरी

काठमाडौं। देशभर आज २५ सय ६७ औं बुद्धजयन्ती धुमधामका साथ मनाइएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाइँदै आएको छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महानिर्वाण अर्थात मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बुद्धजयन्तीका अवसरमा लुम्बिनीको ५ नम्बर गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

आज बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न सरकारले उच्च प्राथमिकतामा दिएको बताए।

इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो। पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट मायादेवी माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो।

बुद्ध जयन्तीका अवसरमा शुक्रबार देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको थियो। रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको घुइँचो लागेको हो।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका थिए। स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको थियो।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्यामा निस्किएका थिए। वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरेका थिए।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग अन्तर्गत सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधिको ज्ञान बाँडे । उनले पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने उपदेश दिएका थिए ।