



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बाली लगाउने मौसम नजिकिँदै गर्दा किसानलाई रासायनिक मल सहज र सुलभ रूपमा उपलब्ध गराउने विषयमा छलफल गरिएको छ ।
बैठकमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीसँग मलको मौज्दात, वितरण प्रणाली तथा आगामी आर्थिक वर्षको तयारीबारे विस्तृत छलफल भएको हो ।
बैठकमा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता कुमार राजभण्डारीले रासायनिक मल आपूर्तिको तयारी समयमै गरिएको बताएका छन् । उनले मुख्य चुनौती बजेट व्यवस्थापन रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ९५ हजार मेट्रिक टन मल खरिदको टेण्डर प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए ।
उनले भने, ‘हामीले ७ महिनाअघिदेखि नै तयारी थालेका छौं । आगामी आर्थिक वर्षका लागि ५ हजार टन मल नेपाल भित्रिइसकेको छ । थप ३० हजार टन मल असारमै आउने जानकारी प्राप्त भएको छ ।’
राजभण्डारीले आर्थिक वर्ष सुरु हुनुअघि नै मल आपूर्तिको तयारी पूरा भइसकेको भन्दै आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायलाई पहल गर्न आग्रह गरे ।
त्यसैगरी कृषि, वन तथा वातावरण मन्त्रालयका कृषि विकास सचिव डा. राजेन्द्र प्रसाद मिश्रले रासायनिक मल व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए । उनले नीति निर्माणमा सबै पक्षको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई अनुकूल वातावरण सिर्जना गरेर मल कारोबारमा सहभागी गराउनुपर्ने बताए ।
उनले भने, ‘नीति निर्माणमा हामी सबै सँगै छौं । निजी क्षेत्रलाई पनि मल कारोबारमा सहभागी गराउने वातावरण बनाउनुपर्छ । यसका लागि अन्य देशको अनुभवसमेत अध्ययन गर्न आवश्यक छ ।’
सचिव मिश्रले निजी क्षेत्रलाई प्रक्रियामा सहभागी गराउन सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । मन्त्रालयले प्राविधिक, वित्तीय तथा कूटनीतिक क्षमता प्रयोग गर्दै मल व्यवस्थापनमा काम गरिरहेको उनले जानकारी दिए ।
रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड



