Logo
१५ वैशाख २०८१, शनिबार

शरणार्थी प्रकरणले राजनीति तरंगित, बढ्यो शीर्षको दौडधुप

अक्षरपाटी
२०८० वैशाख ३१ , आईतबार ११:०५ मा प्रकाशित

काठमाडौं। हुन त नेपालमा बेला बेला विभिन्न काण्डहरु सार्वजनिक हुनेगरेको नौलो होइन।

यसपटक सार्वजनिक मात्र होइन ओरोपमा केही उच्च नेता र कर्मचारी नै पक्राउ पर्नेगरी नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको छ।

जसमा पार्टीका केही नेता, कर्मचारीलगायत बिचौलियको नाम मुछिएको छ। एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्।

कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन्। सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सल्लाहकारसम्मलाई प्रहरीले पक्राउ गरिसकेको छ।

फेक अडियो बनाएर आफूलाई बदनाम गर्न खोजिएको दाबी गर्दै आएकी कांग्रेस नेता आरजु राणा देउवाले यो प्रकरण नेपालको चाहनाले मात्रै अनुसन्धान भइरहेको नभएर अन्तर्राष्ट्रिय शक्ति नै यसमा लागिरहेको आसय एक सञ्चारमाध्यमको अन्तर्वातामा भनेकी छन्।

अनुसन्धानमा कुनै त्रुटी नहोस, दोषी कोही पनि नउम्कियोस् र निर्दोष नफसोस भनेर शनिबार मात्रै देशव्यापी रुपमा आम नागरिक स्तरबाट खबरदारी सुरु भएको छ।

यहीबेला आ आफ्ना पार्टीका, परिवारका सदस्यको नाम मुछिएका शीर्ष नेताहरु आपसमा भेटघाटमा दौडधुप गरिरहेका छन्।

अघिल्लो सोबार भेटेर सार्वजनिक रुपमा संवैधानिक परिषदको बैठकमार्फत कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय भएको थियो। अन्तर्यमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे चासो चिन्ता व्यक्त गरिएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न आज पनि बालुवाटार पुगेका छन्।

उनीहरुबीच संसदीय सुनुवाई समिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

तर पार्टी र परिवारका सदस्यको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपति बेचैनी बढेको बेला शीर्षहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तीन दिनसम्म बसेर हिजो मात्रै सम्पन्न एमालेको बैठकमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव फरार भएको विषयमा नैतिक चिन्ता कम बरु यो प्रकरणकै ध्यान मोड्ने गरी आफ्नै पालामा भएका अन्य काण्ड र क्यान्टोनमेन्टको विषयमाथि पनि छानबिन अगाडि बढाउनुपर्ने प्रस्ताव जोडदार रुपमा उठ्यो।

पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाँड पक्राउ परेपछि पनि निलम्बन गर्न कसुरको कानुनी निर्णय पर्खिरहेको कांग्रेसले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा विशेष चासो राखिरहेको छ।

यस्तो अवस्थामा शीर्षहरुको बाक्लो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।