Logo
११ वैशाख २०८१, मंगलबार

शिवशिखर सहकारीका १६ हजार पीडित, निक्षेपकर्ताको डेढ अर्ब जोखिममा

अक्षरपाटी
२०८० जेठ ७ , आईतबार ०३:०५ मा प्रकाशित

धनगढीः सुदूरपश्चिम प्रदेशमा मात्रै शिव शिखर सहकारीका १६ हजार बचतकर्ता छन् । उनीहरूले निक्षेप गरेको करिब डेढ अर्ब अहिले जोखिममा परेको छ ।

सहकारीका प्रदेश प्रबन्धक हेमराज जोशीले सुदूरपश्चिमका सात शाखामा १६ हजार सर्वसाधारणको करिब डेढ अर्ब निक्षेप रहेको बताए । उनका अनुसार सहकारीले ती शाखाबाट करिब १५ करोड मात्र लगानी गरेको छ । कैलालीको धनगढी, अत्तरिया र लम्की, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी तथा डडेल्धुरा र डोटीमा शिव शिखरका शाखा कार्यालय छन् । महेन्द्रनगर र डडेल्धुरामा सहकारीले डिपार्टमेन्टल स्टोरसमेत सञ्चालन गरेकोमा महेन्द्रनगर शाखा र डिपार्टमेन्टल स्टोर तथा धनगढी शाखाको कारोबार साढे तीन महिनादेखि बन्द छ । अन्य बाँकी शाखामा पनि केही महिनायता आर्थिक कारोबार बन्द रहेको जोशीले बताए ।

उपमहानगरपालिका– ५ की ज्ञानु धामी आफूले जम्मा गरेको चार लाख फिर्ताका लागि साढे तीन महिनादेखि सहकारीको कार्यालय धाइरहेकी छिन् । तर, कार्यालय सहयोगी मात्रै भेटिने सहकारीमा कर्मचारी आउनै छाडेका छन् । ‘ब्याजबाट छोराछोरीलाई पढाउन सजिलो होला कि भनेर पैसा जम्मा गरेकी थिएँ, तर पैसा डुब्ला कि भन्ने चिन्ता छ । हरेक दुई–तीन दिनमा आउँछु, कर्मचारी नै भेटिँदैनन्,’ एकल महिलासमेत रहेकी धामीले भनिन्, ‘पैसा फिर्ता नपाए त हाम्रो बिचल्ली नै हुन्छ ।’

शिव शिखरमा जम्मा गरेको आठ लाख नपाउने चिन्ताले धनगढी– १ की राजेश्वरी शाही बेचैन छिन् । ‘दैनिक रिक्सा चलाएर, मजदुरी गरेर, दुःख गरेर कमाएको सयौँ नागरिकको पैसा जोखिमा परेको छ । सरकारले सञ्चालकलाई कारबाहीको दायरामा ल्याएर बचत रकम असुल गराएर दिनुपर्छ,’ उनको माग छ ।

धनगढीकै सुरेन्द्र ताम्राकारले पटक–पटक सहकारीको कार्यालय धाए पनि बचत गरेको ५६ हजार फिर्ता नपाएको गुनासो गरे । ‘हामीजस्ता सर्वसाधारणका लागि त्यति पनि धेरै ठूलो रकम हो,’ उनले भने, ‘आपत् पर्दा सजिलो होला भनेर जम्मा गरेको पैसा फिर्ता पाइएन ।’

शिव शिखर सहकारीपीडितले संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेका छन् । सञ्चालकलाई पक्राउ गरेर रकम फिर्ता गराइदिन माग गर्दै संघर्ष समितिले प्रशासन र प्रहरीलाई ध्यानाकर्षण गराउनुका साथै धनगढीमा प्रदर्शन पनि गरेको छ । संघर्ष समितिका अनुसार धनगढी शाखामा मात्र करिब ६ हजारले करिब ६३ करोड जम्मा गरेका छन् । यो शाखाले साढे चार करोड लगानी गरेको छ ।