Logo
१४ वैशाख २०८१, शुक्रबार

लघु उद्यम कार्यक्रम नीति तथा कार्यक्रमबाट नहटाउन माग

अक्षरपाटी
२०८० जेठ ९ , मंगलबार ०६:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघले सरकारको नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग गर्दै सरकारको ध्यानाकार्षण गराएको छ।

महासंघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अहिलेको बेरोजगारीको समस्या व्याप्त भइरहेको आवस्थामा लघु उद्यम विकास कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै यसलाई नहटाउन ध्यानाकार्षण गराएको हो।

आर्थिक मन्दीको कारण देखाउँदै लाखौं साना उद्यमीलाई मारमा नपार्न उनीहरुले सरकारको ध्यानाकार्षण गराएका हुन्।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालकी अध्यक्ष देवकी घिमिरेले सरकारले लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताइन्।

आर्थिक मन्दीको आधार देखाएर राज्यले विभिन्न क्षेत्रको अनुदान कटौती गरिरहको अवस्थामा लघु उद्यमसँग सम्बन्धित् कार्यक्रम नहटाउनका लागि आफूहरुले खबरदारी गरेको उनले बताइन्।

उक्त कार्यक्रम स्थानीयस्तरमा एकदमै प्रभावकारी रहेको उनको भनाइ छ । कार्यक्रमको आधारमा बेरोजगार, गृहणी, महिलालगायतले पनि रोजगारी पाएको र लघु उद्यममार्फत आयआर्जनको बाटो अवलम्बन गरिरहेको उनको भनाइ छ।

‘यो कार्यक्रम एकदम प्रभावकारी छ । उद्यमीहरुले उत्पादनलाई व्यवस्था पन र विभिन्न किसिमका कठिनाइहरु सरकारले सुनोस् भनेर सरकारलाई हामीले ध्यानाकार्षण गराएको हो,’– उनले भनिन्।

त्यसैगरी ध्यानाकार्षण कार्यक्रमका प्रमुख अतिथि, लघु उद्यम कार्यक्रम विशेषज्ञ राजन केसीले अहिले देशमा रहेको विभिन्न समस्यामध्ये बेरोजगार समस्या मुख्य भएको बताए।

स्थानीयस्तरका स्रोत र साधनलाई परिचालन गरेर विपन्न वर्गलाई पनि उद्यमी बनाउनका लागि उक्त कार्यक्रम प्रभावकारी रहेको उनको दाबी छ।

‘विपन्न वर्गको आर्थिक स्थिति उकास्नका लागि एउटा मात्रै कुराले पुग्दो रहेनछ । त्यसका लागि सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र उनीहरुलाई बेलाबेलामा सल्लाह÷सुझाव दिने वातावरण मिलेको खण्डमा स्थानीयस्तरमा उपलब्ध भएका साधन तथा स्रोतको परिचालन गरेर आयआर्जन गर्न सकिन्छ,’–उनले भने।

राष्ट्रिय उद्यमिता सहजकर्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमराज जोशीले लघु उद्यम विकास कार्यक्रमले देशबाट गरिबी निवारण, वैदेशीक पलायनबाट रोक र देशको आर्थिक विकासको मेरुदण्डको रुपमा काम गरिरहेको बताए।

सरकारको नीति तथा कार्यक्रममा लघु उद्यमीको माग र आवश्यकताहरुलाई खुम्च्याउन नहुने उनको भनाइ छ।

‘देशलाई औद्योगीकरणको रुपमा लानका लागि दक्ष जनशक्तिको रुपमा रहेका उद्यम विकास सहजकर्ताहरुले गरेको कामको परिणाम हामीले तपाईँहरुको अगाडि ल्याइसकेका छौं । त्यसलाई सर्टिफाई गर्न कतै जान पर्दैन, नेपाल सरकारले सम्बन्धित पालिकामा गएर अनुगमन गरे पुग्छ,’– उनले भने।

लघुउद्यमी श्रीदेवी श्रेष्ठले लघु उद्यम कार्यक्रम स्थानीय तहका प्रत्येक घरघरमा पुगेको र यो महिलाका लागि एकदमै प्रभावकारी भएको बताइन्।

‘यो कार्यक्रम स्थानीय तहका गएर प्रत्येक घरघरमा पुगेको छ र प्रत्येक घरको महिलाहरुमा पुगेको छ । बेरोजगार भएर बसेर पुरुषको आशामा पालिनु परेको छ । घरमामात्रै सीमित भएर बस्नुपरेका महिला हरुलाई कसरी अगाडि बढाउन किन्छ भन्ने कुरामा हामीले यो कार्यक्रमलाई बुझेका छौं,’– उनले भनिन्।

लघु उद्यमी दिनेश विशुंके लघु उद्यमीहरुले अहिले आफ्नो लगानी भन्दा पनि कम रेटमा उत्पादन बेच्नुपर्ने अवस्था रहेको बताए । सरकारले लघु उद्यमीलाई ऋण र बजारीकरणको व्यवस्था गर्नु अहिलेको आवश्यकता रहेको उनले बताईन् ।
पदम मग्रातीले देशमा लघु उद्यमबाट गरिबी र बेरोजगारीको समस्यामा रहेकाहरुको समस्या सम्बोधन भइरहेको बताए । त्यसलाई निरन्तरता दिनका लागि सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

राष्ट्रिय उद्यमिता सहजकर्ता महासंघ नेपालका उपाध्यक्ष शान्ता विकले लघु उद्यमको माध्यमबाट बेरोजगारीको समस्या समाधान गर्न आवश्यक रहेको बताईन् । उद्यम विकास सहजकर्ताहरु जागिरकै लागिमात्र नलडेको उनको भनाइ छ।

उद्यम विकास अधिकृत कृष्णमाया रिजालले सरकारले विशेष महत्व दिनपर्ने कार्यक्रमलाई बेवास्ता गरेको उनको आरोप छ ।

‘लघु उद्यम विकास कार्यक्रमहरु नेपाल सरकार, स्थानीय तह र राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई किन प्राथमिकतामा राखिएन ? यो गम्भीर विषय हो,’– उनले भनिन्।