Logo
१६ चैत्र २०८०, शुक्रबार

लाज पनि लजाइसक्यो, घरको होस कि बार्दलीको कसैलाई छाड्नु हुँदैन : गगन थापा

अक्षरपाटी
२०८० जेठ १० , बुधबार ०३:०५ मा प्रकाशित

काटमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा लाज पनि लजाइसकेको टिप्पणी गरेका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आइरहेका नामहरुले लाज पनि लजाउने अवस्था आएको छ।’

उनले शरणार्थी प्रकरणमा सरकारको परीक्षा भइरहेको बताउँदै अनुसन्धान कसरी भइरहेको छ, सबैले हेरिरहेको बताए। उनले भने, ‘चाहे सलाम गर्ने होस् या शलामी लिने होस्। जसलाई छोएको छ, ती सबै नाममा स्वच्छ अनुसन्धान हुनुपर्छ।’ उनले सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुने बताउँदै भने, ‘न्याय गरेँ भनेर मात्रै हुँदैन, न्याय गरेका अनुभूति पनि हुनुपर्छ। घरको होस् चाहे बार्दलीको राज्यविरुद्धको अपराधमा एकजना आरोपी पनि उम्कन हुँदैन।’

उनले सरकारको अनुसन्धान निष्पक्ष नभए विकल्प खोजी हुने चेतावनी पनि दिए। प्रकरणका मुख्य योजनाकार केशव दुलालले नेकपा एमाले अध्यक्ष केपीका स्वकीय सचिवलाई बालुवाटारमा एक करोड दिएको बयान दिएपछि राजनीति थप तरंगित भएको छ।