Logo
११ वैशाख २०८१, मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष ओली छटपटिनुको अन्तर्य

अक्षरपाटी
२०८० जेठ ११ , बिहीबार ०७:०५ मा प्रकाशित

काठमाडौं। यतिबेला सबैभन्दा बढी चर्चामा कुनै विषय छ भने त्यो हो नक्कली भुटानी शरणार्थी प्रकरण।

आफ्नै नागरिकलाई अनागरिक, अझ नक्कली शरणार्थी बनाएर तेस्रो मुलुक पठाउनेजस्तो अकर्मन्य काम राज्यका जिम्मेवार अधिकारी मात्रै होइन मन्त्री तहबाटै हुनुजस्तो लज्जाको विषय अरु के होला।

तर नक्कली भुटानी शरणार्थी प्रकरण बाहीरिएसँगै सबैभन्दा बढी छटपटीमा परेका नेता हुन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ।

प्रहरीले आफ्नो अनुसन्धान थालेसँगै उनी किन यसरी छटपटीएका थिए भन्ने राज अभियुक्तहरुको बयानका क्रममा विस्तारै खुल्दै गएको छ।

प्रधानमन्त्रीको रुपमा दोस्रोपटक कार्यकाल सम्हालेपछि केपी शर्मा ओलीका सबैभन्दा नजीकको सचिव थिए प्रेमकुमार राई।

राईले तत्कालीन मुख्यसचिवलाई पाखा लगाउँदै प्रधानमन्त्रीलाई कर्मचारीको तर्फबाट ब्रिफ गर्ने काम पनि गरेका थिए।

जो यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन्। ओलीकै चाहनामा राईलाई अख्तियार प्रमुखमा नियुक्त गरिएको थियो।

नक्कली शरणार्थी प्रकरणमा प्रक्राउ परेका मुख्य अभियुक्तले राईलाई मन्त्रालय परिसरमा नै रकम दिएको बयान दिएका छन्।

प्रहरीमा दिएको बयानबारे थाहा पाएरै हुनुपर्छ ओलीले ७ गते संसदमा बोल्दै राइतर्फ लक्षित गर्दै कसैको पद खोस्नका लागि झुटो ओरोप लगाउने काम भएको जिकिर गरे।

ओली प्रधानमन्त्री हुँदा होस वा नहुँदा उनका सबैभन्दा नजिकका व्यक्ति हुन प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य। उनी पनि यो प्रकरणबाट अछुतो रहन सेकनन्।

राजेश पनि यो प्रकरणमा रकम लिने व्यक्तिको सूचीमा तानिए। अनुसन्धानका क्रममा उनलाई प्रधानमन्त्री निवास बालुवाटारमै एक करोड बुझाएको बयान बाहिरिएपछि ओलीको वेचैनीको कारण के थियो भनेर बुझन गाह्रो छैन।

नेकपा फुट्दा तत्कालीन माओवादी खेमाको साथ छोड्दै ओलीको खेमामा उभिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकलाको नाम समेत मुछिँदा ओलीका विश्वासपात्रहरु नै यो प्रकरणमा सामेल भएको अनुमान गर्न सकिन्छ।

यस्तै पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितलगायतको नाम बयानको क्रममा आइसकेका छन्।

नाम मुछिएका नेताहहरु ओली नीकट भनेर चिनिन्छन्। उनीहरु यो प्रकरणमा जोडिएको कुरा बयानबाट सार्वजनिक भएपछि ओली यस प्रक्ररणमा सामेलहरुबारे पहिलेदेखि नै जानकार थिए र त्यसैले उनी यो प्रकरण सार्वजनिक भएदेखि नै छटपटीमा थिए भन्ने अनुमान लगाउन गाह्रो छैन।

सरकारी वकिलले बयानका क्रममा अभियुक्तहरूले पोलमा पारी खुलाएका व्यक्तिहरूको हकमा पनि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ।

अब अख्तियार प्रमुखदेखि पूर्व प्रधामन्त्री ओलीका प्रमुख स्वकीय सचिवसम्म अनुसन्धान गर्न बाटो त खुलेको छ। त्यसलाई प्रहरीले कसरी अगाडी बढाउछ त्यो भने प्रतिक्षाको विषय बनेको छ।

केपी ओली