Logo
१६ चैत्र २०८०, शुक्रबार

मेडिकल सामग्रीको १६ करोड नतिरेपछि दुर्गा प्रसाईंमाथि मुद्दा

अक्षरपाटी
२०८० जेठ १२ , शुक्रबार ११:०५ मा प्रकाशित

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मेडिकल सामग्रीको करिब १६ करोड भन्दा बढी रकम नतिरेको भन्दै मुद्दा दायर भएको छ।

प्रसाईंले मेडिकल कलेजका लागि किनेको मेडिकल सामग्रीको रकम लामो समयसम्म तिर्न आनाकानी गरेको भन्दै मेडिकल सामग्री आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेका हुन्।

प्रसाईंका दुई कम्पनी बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत पुगेको हो।

१६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ सावा र कानुन बमोजिमको ब्याजसमेत भराइपाउन माग गरेर सातवटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन्। दुई मुद्दा उनको पारिवारिक सदस्यसँग सम्बन्धित छन्।

बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेपछि विवादमा परेका प्रसाईंलाई अन्य क्षेत्रबाट समेत मुद्दाको दबाब सुरु भएको हो।

कम्तीमा तीनदेखि सात वर्षसम्म उधारो रकम नपाएपछि आपूर्तिकर्ताले अदालतको ढोका ढक्ढक्याएका हुन्।

प्रसाईंसँगै बी एण्ड सीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, रइस पोखरेल र अनुजजंग रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।

जिल्ला अदालत झापा स्रोतका अनुसार हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्सलगायतले मुद्दा दायर गरेका छन्।

सम्पूर्ण मुद्दा औषधी, मेडिकल सामानहरू, सौन्दर्य प्रवर्धक सामान र सरसफाइका सामानहरूको भुक्तानीसँग सम्बन्धित छन्।

अस्पताल र प्रसाईंसमेतलाई विपक्षी बनाएर हस्पिटेक इन्टरप्राइजेजले तीन करोड १८ लाख ४७ हजार ९१६ रुपैयाँ असुल उपरको मागसहित मुद्दा दायर गरेको छ।

यस्तै, हस्पिटेकले नै निरोज मेडीको ट्रेडर्स र उमा प्रसाईं विपक्षी बनाएर दुई करोड १५ लाख ६७ हजार ६७१ रुपैयाँ सावा र ब्याजसमेत भराउन माग गरेर मुद्दा दायर गरेको छ।

दुर्गा प्रसाईँ