Logo
२० वैशाख २०८१, बिहीबार

गाउँमै सुविधा पुगेपछि बसाइँ सरेकाहरु पनि गाउँ फर्किँदै

अक्षरपाटी
२०८० जेठ ३० , मंगलबार ०६:०६ मा प्रकाशित

बागलुङ। गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ। दैलो अगाडिको सडकमा सवारी हुइँकिन थालेको पाँच वर्ष भइसक्यो। घर–घरमै पानीका धारा कलकल झरिरहेका छन्।

बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ। गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै चलेको छ।

दुई चार वर्षअघि त गाउँबाट बसाइ सर्नेको लर्को नै थियो। धेरै कमाइ हुने घर छाडेर मधेस झरे, गाउँका केही घरसमेत खाली भएका थिए। झिम्पा गाउँका बासिन्दा प्रमिला मगरले भनिन्, ‘अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले, पहिला घडेरी किन्न तराई सर्नेहरुले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्न थालेका छन्।’

पहिला–पहिला मेलापात जानुपर्ने, घाँस दाउराका लागि लेक जानुपर्ने अवस्थामा यहाँका बासिन्दालाई दुःख भए पनि अहिले लेक जान छाडिसकेका छन्।

‘पहिला जस्तो पानी लिन जानुपर्ने, दाउरा घाँस लिन जानुपर्ने अवस्था छैन, श्रीमानले विदेशमा कमाउनुहुन्छ, त्यही पैसा खर्च गरेर सहरमा कोठा लिएर बस्नुभन्दा आफ्नै गाउँमा बस्न आनन्द छ, बसाइँसराइ गरेर गएका समेत गाउँमा सुविधा थप भएपछि फर्केका उदाहरण छन्’, मगरले भनिन्।

गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले सहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाइँसराइ गर्नेहरु घटेका मात्रै छैनन् मधेस गएकासमेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेको स्थानीय चक्रबहादुर रोकाले बताए।

‘सुविधाका लागि सहर जाने हो, त्यो सुविधा गाउँमै पुग्यो भने किन बसाइँ सर्नु ? गाउँबाटै बस नेपालका विभिन्न सहरका लागि छुट्छन्, मध्यपहाडी राष्ट्रिय लोकमार्ग कालोपत्र भएपछि निसीखोलामा विकासले फड्को मारेको हो, गाउँमै प्लाष्टिक टनेलमा तरकारी उत्पादन हुन्छ’, रोकाले भने।

निसीखोला–४ झिम्पाका झन्डै एक सय घरमा गत वर्ष गोर्खा वेलफेयर ट्रर्सले घर–घरमा धारा निर्माण गरेर शुद्ध पानी वितरण गरेको हो।

झिम्पा खानेपानी आयोजनामार्फत अहिले ९४ घरमा शुद्ध खानेपानी वितरण भइरहेको झिम्पा खानेपानीका अध्यक्ष चक्रबहादुर रोकाले जानकारी दिए।

स्थानीयका अनुसार विकास दैलोमै आएपछि गाउँ थप रमाइलो भएको बताए। आम्दानीको स्रोत भए सुविधा खोज्न सहर जान नपर्ने उनीहरु बताउँछन्।

अहिले एक घरमा १० कागतीका बोटदेखि चार सय कागतीका बोट लगाउनेहरु छन्। झिम्पागाउँमा प्लाष्टिक टनेलमार्फत समेत व्यावसायिक तरकारी खेती गर्न थालिएको हो।

राष्ट्रिय सडकको पहुँच पुगेसँगै बजारीकरणको समस्या नभएपछि यहाँका बासिन्दा घाँस दाउरा छाडेर व्यावसायिक कागती खेती, सुन्तला खेती, बाख्रापालन तथा तरकारी खेतीमा आकर्षित भएका छन्।