काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ।
लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्याउनुपर्ने महानगरको निर्देशन छ।
महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ। काठमाडौं महानगरले गत जेठ १९ गते सार्वजनिक सूचना प्रकाशन गर्दै आगामी असार १ गतेदेखि उक्त निर्णय अनिर्वाय रुपमा लागू गर्न भनेको थियो।
यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै विरोध जनाउँदै आएका छन्।
आज (बुधबार) यातायात व्यवसायी र विभिन्न संगठनहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन्। यातायात व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन्।
यातायात व्यवसायी र विभिन्न संगठनहरुले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन्।
महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरुको चेतावनी छ। महानगरले निर्णयमा पुनरावलोकन गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरुको भनाइ छ।
‘महानगरका मेयर बालेन्द्र शाहले निर्णय सच्याउँछन् या सच्याउँदैनन्, त्यो महानगरको विषय हो तर निर्णय कार्यान्यन गर्न भने त्यति सजिलो छैन। यदि आफ्नो अडानबाट महानगर तलमाथि नहुने हो भने सेलिब्रेटी मेयर बालेन्द्र शाहको लोकप्रियता ओरालो लाग्ने कार्यको सुरुवात यही निर्णयले तय गरिदिने अनुमान आम ब्यवसायी मजदुर र उपभोक्ताको छ,’ काठमाडौ पूर्व यातायात सन्चालन संघर्ष समितीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
महानगरको निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमा रहेको उनीहरुको ठहर छ। पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहेपनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौति रहेको बताए।
महानगरले परिवर्तनको नाममा सुनियोजित रुपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए।
‘परिवर्तनको नाममा नियोजित व्यवस्थापन गरिएको छ । गम्भीरतापूर्वक अध्ययन गरेर यो निर्णय लागू गर्न आवश्यक छ। तर, लाठी र बुट तेस्र्याएर हुँदैन,’ उनले भने।
त्यसैगरी नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए।
महानगरपालिका र नेपाल सरकारले बनाएको मापदण्डमा रहेर काउन्टर खोलेर टिकट काट्न र यातायात निर्वाध रूपमा सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ।
महानगरको टोलीसँगको हिजो (मंगलबार) भएको वार्ताको जानकारी गराउँदै उनले भने– ‘हिजो (काठमाडौं महानगरसँगको वार्तामा) जोडदार माग उठेको छ। अहिले पहिला भन्दा केही लचक भएर व्यवहारिक पक्ष पनि हेर्नुपर्छ भन्ने आएको छ। यातायात क्षेत्रमा काम र लगानी गर्नेहरुलाई सम्मान दिलाउन र रोजगारी र लगानीको सुरक्षाका लागि माग उठाएका छौं । समिति बनाउने र मेयरसाब सम्म गुनासो पुर्याउँछौं भन्नुभएको छ।’
दिवा तथा रात्रि सेवा यातायात संघर्ष समितिका अध्यक्ष श्रीप्रसाद शिवाकोटीले महानगरले नर्कको त्रास देखाएर स्वर्गको टिकट बेच्ने केही व्यापारीले स्वार्थको आधारमा यातायात व्यवसायीलाई कैदी बनाएको आरोप लगाए।
अहिलेको बसपार्क क्षमताहिन रहेको उनको दाबी छ। नेपालमा यातायात क्षेत्रमात्रै अव्यवस्थित नभएर अन्य क्षेत्र पनि भद्रगोल रहेको उनको दाबी छ ।
बालेन शाहको हतारको निर्णयले यातायात व्यवसायीहरुको रोजिरोटी खोसिने अवस्था आइपुगेको उनको दाबी छ । काठमाडौं महानगरपालिको उक्त निर्णयमा पुनर्विचार गर्न आवश्यक रहेको उनले बताए।
गौशला संघर्ष समितिका अध्यक्ष रविन कार्कीले बसपार्कभित्र रहेको लोत्से भन्ने संस्थाको दादागिरीका कारण यातायात मजदुर र व्यवसायी सुरक्षित हुनसक्ने बताए। साथै उक्त बसपार्कमा सबै बसहरु अटाउने क्षमतासमेत नभएको उनको दाबी छ।
‘बसपार्कभित्र लोत्से भन्ने संस्थाको दादागिरी, त्यहाँभित्र हाम्रा व्यवसायीमाथि लुटतन्त्र र हाम्रा मजदुरहरुको जिउ धनको सूरक्षा नभएर हामी त्यहाँ नगएका हौं। महानगरले असार १ गतेदेखि सबै गाडी बसपार्क जानपर्छ भनेको छ । त्यहाँ क्षमता छैन,’ उनले भने।
महानगरले कानुनअनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउण्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउण्टर, एक काउण्टर एक टिकट नीति बनाउने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोशाक लगाएर मात्रै काउण्टरमा काम गर्ने, काउण्टरमा आफ्ना बस पुग्ने गन्तब्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूची राख्ने, संख्या किटान गरेर काउण्टर नम्बर लेख्ने, बस छुट्ने समय यात्रु आइपुग्नु पर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई सहजीकरण गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने, यात्रुहरुको गुनासा तथा सुझावका लागि काउण्टरमा सुझावपेटिका राख्नुपर्नेजस्ता निर्देशन समेत दिएको छ।