काठमाडौं १ असार । आज ६ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्। कोशी प्रदेश सरकारले भने बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ।
सांसदलाई पैसा बाँड्ने केन्द्र सरकारको नक्कल गर्दै ६ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् । बजेटमा कृषि, पर्यटन क्षेत्रको विकासमार्फत उत्पादन र रोजगारी बढाउने विषयलाई प्राथमिकता दिइएको छ।
प्रदेश सरकारले वर्षेनी असार १ गतेभित्र आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था अनुरुप ६ वटा प्रदेशले आज बजेट ल्याएका हुन् ।
कोसी प्रदेश सरकारले बिहिबार नै ३६ अर्ब २४ करोडको बजेट ल्याइसकेको छ । शुक्रबार मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले बजेट ल्याएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिकका लागि २९ अर्ब भन्दा बढीको बजेट ल्याएको छ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।
चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अथात् ३२ दशमलव ७९ प्रतिशत र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अथात् ५८ दशमलव १६ प्रतिशत विनियोजन गरेका छन्।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब रुपैयाँ बढाएर ३३ अर्ब ३७ करोडको बजेट ल्याएको छ। कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालुतर्फ ९ अर्ब २० लाख र पुँजीगततर्फ १९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेको छ। चालुतर्फ १३ अर्ब ६३ करोड र पुँजिगत तर्फ २३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । लुम्बिनी सरकारले चालु आर्थिक वर्षको तुलनामा २ अर्ब १५ करोड कम बजेट ल्याएको हो।
यस्तै, गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ४८ करोड रुपैयाँ कम आकारको बजेट हो। चालु आर्थिक वर्षका लागि गण्डकीले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ विनियोजन गरेको थियो।
यसैगरी, बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै ८ अर्ब सानो आकारको बजेट ल्याएको हो।