Logo
१६ वैशाख २०८१, आईतबार

पूर्वी नेपालमा बाढीको वितण्डाः तीन जनाको मृत्यु, २६ बेपत्ता, करोडौंका पुल बगायो

अक्षरपाटी
२०८० असार ३ , आईतबार ०२:०६ मा प्रकाशित

काठमाडौं ३ असार। पूर्वी नेपालका पहाडी जिल्लामा मध्य राति परेको अबिरल वर्षापछिको बाढीले ठूलो क्षति पुर्याएको छ।

भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। अहिलेसम्म २६ जना बेपत्ता भएका छन्। बाढीले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा सबैभन्दा बढी क्षती पुर्याएको छ।

संखुवासभाको हेवाखोलामा बाढीले किनारका सात घर बगाएको छ। बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १ मजदुरको मृत्यु भएको छ। १६ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

बाढीले हाइड्रोपावरको पूर्वाधारमा पनि क्षति र्पुयाएको छ। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो।

हेवाखोला र सवाखोलाको संगमस्थल किनारका बस्ति बाढीले कटान गर्दै लगेको छ। यहाँका ४ घरमा क्षती पुगेको छ। चैनपुर नगरपालिकाले प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। सवापोखरी गाउँपालिकामा गोठ बगाउँदा २ जना बेपत्ता भएका छन्।

त्यसैगरी, ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। सिदिङमा गाउँपालिका मेहेलेमा भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या र नाती प्रज्वल सम्पर्कबिहीन भएकामा एक जनाको शव भेटिएको छ।

सोही स्थानका गणेश तामाङ पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। सिदिङ गाउँपालिकाकै वडा नं ३ मा पहिरोले ३ घर पुरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष कृष्ण कुमारी कडरियाका अनुसार सञ्चार सम्पर्क विच्छेद भएका कारण क्षतिको यकिन विवरण आउन सकेको छैन।

पाँचथरमा अविरल वर्षासँगै आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। फालेलुङ गाउँपालिका–३ की जुना साउदेनको मृत्यु भएको हो। अन्य ५ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा हिलिहाङका तिलकुमार तामाङ, फिदिमका, संजोक लिम्बु, राजकुमार राई, आसिस माझी, एलिसा माझी रहेका छन्।

बाढीले ६ वटा पक्की पुल र ६ वटा झोलुङगे पुल बगाएको छ। पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दार्चला बाढीपहिरो बाढीपहिरो