Logo
१२ कात्तिक २०८३, बिहीबार

चक्रवात ‘अर्नब’को सम्भावित असर : सरकार पूर्व तयारीमा, हवाई र पर्यटन क्षेत्रमा निगरानी

अक्षरपाटी
२०८३ कात्तिक १२ , बिहीबार ०३:१० मा प्रकाशित

काठमाडौँ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जनधनको सुरक्षा र अत्यावश्यक सेवा सञ्चालनलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायलाई तयारी अवस्थामा राखेको छ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको ‘अर्नब’ नेपाल आइपुग्दा कमजोर हुने आकलन छ। त्यसैले नेपालमा तीव्र हावाहुरीको सम्भावना कम भए पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरी हुनसक्ने मौसमविद्हरूको आकलन छ।

सम्भावित जोखिमबारे सुरक्षा निकायले विभिन्न स्थानमा माइकिङमार्फत सर्वसाधारणलाई जानकारी गराइरहेका छन्। जिल्ला प्रशासन कार्यालयहरूले पनि स्थानीय अवस्थाअनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाएका छन्।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटक र पर्वतारोहीलाई आधिकारिक मौसम पूर्वानुमान हेरेर मात्र यात्रा तय गर्न आग्रह गरेका छन्।

हवाई सुरक्षाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक, धावनमार्ग निरीक्षण तथा सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सम्भावित मौसमजन्य अवरोधका लागि वैकल्पिक उडान योजनासमेत तयार राखिएको छ।

सरकारले नागरिकलाई अफवाहमा विश्वास नगरी आधिकारिक सूचना हेर्न र मौसमको अवस्था बुझेर आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

अर्नब चक्रवात

ट्रेन्डिङ ( साप्ताहिक )