


काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण नेपालका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो, बाढी र सडक भासिने जोखिम बढ्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै प्रमुख राजमार्गमा प्रारम्भिक पहिरो जोखिम आकलन तथा पूर्वसूचना जारी गरेको हो।
पूर्वानुमानअनुसार आगामी केही दिनमा विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुनसक्ने भएकाले ती क्षेत्रसँग जोडिएका सडकमा पहिरो तथा बाढीको जोखिम बढ्ने देखिएको जनाएको छ।
पहाडी र भिरालो भू–बनोट भएका सडकखण्डमा वर्षाका कारण ‘पहिरो खस्ने, ढुंगा झर्ने तथा सडक भासिने’ जोखिम रहेको छ।
त्यस्तै, नदी किनारका सडकमा जलसतह बढ्दा बाढी तथा नदी कटानको जोखिमसमेत बढ्न सक्ने आकलन गरिएको छ।
वर्षाका कारण साना–ठूला खहरे खोला तथा कल्भर्टमा पानीको बहाव बढ्दा सडक संरचनामा क्षति पुग्न सक्ने सम्भावना पनि औँल्याइएको छ।
पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएमा यातायात सेवा प्रभावित हुनुका साथै अत्यावश्यक वस्तुको ढुवानीमा समेत समस्या आउन सक्ने चेतावनी दिइएको छ।
यी सडकखण्ड उच्च जोखिममा
चक्रवात ‘अर्नब’को सम्भावित प्रभावबाट नारायणगढ–मुग्लिन सडकखण्ड विशेष जोखिममा रहने आकलन गरिएको छ।
त्रिशूली र नारायणी नदी किनारमा पर्ने यो सडकखण्डमा वर्षासँगै पहिरो, ढुंगा खस्ने तथा नदी कटानको जोखिम बढ्न सक्ने बताइएको छ।
त्यस्तै, कोशी राजमार्ग र सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका विभिन्न सडकखण्ड पनि जोखिममा पर्न सक्ने सूचनामा उल्लेख छ।
यसका अतिरिक्त विगतमा पहिरोको जोखिममा भएका तथा नदी किनारमा रहेका अन्य राजमार्ग र सडकखण्डमा पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
सम्बन्धित निकायले चक्रवातको सम्भावित प्रभावका कारण वर्षाको समयमा राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले अत्यावश्यकबाहेक वर्षा भइरहेको समयमा राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।
यात्रा गर्नैपर्ने अवस्था आएमा सम्बन्धित ट्राफिक प्रहरी वा सडक कार्यालयबाट पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
अर्नब चक्रवात

